


कृष्ण बाउसे
ठिही बोकेर आएकाले
आफैँ पनि काँपिरहेका छौ तिमी ।
मसँग हिटर छैन तिमीलाई तताउन
मसँग सिरक छैन तिमीलाई ओढाउन।
मसँग तातो सुप छैन
तिम्रा आन्द्राभुँडीलाई
तताउँदै फुलाउन ।
प्रत्येक दिन एकुन्टाका दरले
खप्टेर लगाइदिँदैछु तिमीलाई
मैले नै जडाउरी पाएका फाटेका लुगाफाटा ।
पियाउँदैछु तिमीलाई
झोलको धितमर्ने गरी
ट्युबवेल थिच्दै
एकाबिहानै तानेर जमिनमुनिको बाफिलो पानी।
तपाउँदैछु तिमीलाई
हिटरको विकल्प
दङ्दङ्ती प्लास्टिक गन्हाइरहेको
घुरको धुवाँको तातो।
ए हेपाहा हिउँद !
ए, अनिच्छित पाहुना !
तारे होटलमा नबसेर
हुनेखानेका घरमा नपसेर
पस्यौ नि मेरै घरमा
यो सुदामालाई जे गरेपनि हुन्छ भनेर,
– बस अब नाकमा सिंगान बोकेर !
– बस अब स्याँस्याँ गर्दै लगातार खोकेर !
– बस अब दम, क्षय र अर्बुद रोगका गोली धोकेर !




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू