रातभरि
ताराहरू हेरिरहूँ
निद्रा पटक्क नलागोस् !

ईगम खालिङ (दार्जीलिङ)

एउटा तारा,
हो, एउटा तारा झरेको हेर्नलाई
हरेक रात
म यसरी रातभरि अनिँदो बसिरहूँ
फेरि पनि तारा झर्दै नझरोस्
अनि म तिम्रो सफलताका निम्ति कामना गर्न पनि नसकूँ !

हरेक रात
कहीँ न कहीँ
कोही न कोही त जागिरहेको होला
अनि एक्लै छतमा बसेर ताराहरू गनिरहेको होला !
हरेक रात
तिम्रो तारा आकासबाट झर्छ होला
तर मलाई थाहा छ कि तिमीले टुटेको तारालाई
केही माग्दैनौ भन्ने
त्यसैले त म मात्रै मागिरहेको छु ।
अनि जागिरहेको छु ।

कुनै एउटा
लेख्दै नलेखेको कथालाई
सादा कागजभित्र खोजिरहूँ
त्यसपछि म एक शब्द पनि पढ्न नसकूँ
फेरि त्यो सादा कागज सधैँ सादा कागज नै रहिरहोस् !

तिमी
तिम्रा मौन पीडाहरूजस्तै चुपचाप छतमा जिउँदो
यसरी आइरहनू
फेरि कुनै एउटा रात झुक्किएर भए तापनि
मेरो तारा झरोस्
त्यति बेला
म तिम्रो शून्यतासित चुपचाप बात रातभरि गरिरहूँ ।


त्यो चञ्चल हावाको झोँकाजस्तै
तिम्रो नरम केशराशि सुमसुमाइरहूँ
अनि यसरी महसुस गरूँ कि तिमीलाई मेरो स्पर्श थाहा नहोस् !
म पुतलीजस्तो
एउटा डालीदेखि अर्को डाली गर्दै उडिरहूँ !
कहिले जिउँदै कहिले मर्दै
अनि
तिम्रो त्यो संसारमा
या त आँधिबेहरी आओस् या प्रलय
म यात्रा निरन्तर हिँडिरहूँ !

म कहिलेकाहीँ
यो पनि चाहन्छु कि कुनै एउटा रात
म तिम्रो सपनीमा आएर
त्यो मेरो एउटा अधूरो सपना पूरा गरूँ !
तिमी
मेरो जीवनको रानी बन्नेछ्यौ
म तिम्रो राजा ।
म देशबिनाको राजा
अनि तिमी बिना सुखको रानी ।
टुट्ने ताराहरूको जन्ती हुनेछ,
फूलहरूले भरिएको पथ ।
तिमी,
हो, ‘तिमी’ खुशीले रोइपठाउने छौ
अनि रुँदैरुँदै हाँस्नेछौ
म पनि खुशी हुनेछु तिम्रो आँसुजस्तै
कहिले पागलपनलाई छोएर त कहिले आँचललाई भिझाएर !
त्यति बेला
तिम्रो त्यो पीडाको विदाई हुनेछ,
हो, ‘त्यो पीडाको’ जसले तिमीलाई उजाड बनाउनेगर्छ ।
फेरि कुनै एउटा रात
मेरो तारा आकासबाट अचानक झरिहाल्यो भने
त्यति बेला
म तिम्रा निम्ति खुशी माग्नेछु,
आँसुको कारण सोध्नेछु,
तर सबैलाई थाहा छ कि सपना त सपना नै हुन्छ ।

जुन रात
मेरो तारा झर्नेछ
त्यति बेला तिम्रो तारा नझर्न पनि सक्छ ।
त्यसैले भनेको
तिम्रो तारा नै मेरो तारा हो,
तिम्रो मौनता नै मेरो मौनता हो ।

पगली,
तिमी धेरै डराउनेछौ !
कहिल्यै नअत्तालिनूँ
किनकि तिम्रा दु:खहरूको निलामी मैले गरेको छु,
तर एउटा कुराचाहिँ सत्य हो
पीडाबिना तिमी आफैँलाई अपूर्ण महसुस गर्नेछौ ।

अब
मनमा चिन्ता छ
आँसुका थोपाहरूमा तिमी चुपचाप
खुशीको मरुभूमिमा कतै हराई त जादैनौ !
होइन भने
मलाई ताराहरूकै जरूरत पर्नेछ कि
म एउटा इच्छामा झट्ट एउटा ठूलो ‘फिनिक्स’ बनूँ
फेरि कति मजा आउनेछ
तिमी क्याक्टस म मरुभूमि !

फेरि एक दिन
क्याक्टस फुल्नेछ तिम्रो रूप लिएर बलुवामा
चारैतिर सुगन्धै-सुगन्ध फैलिनेछ
हावा-हावाको साथमा,
म स्पर्श गरिरहनेछु
तिमीलाई बलुवा-बलुवाको साथमा।

मरुभूमिमा
पानीको कमी त हुन्छै-हुन्छ,
त्यसैले तिम्रो आँसुको ‘ओएसिस’ काम लाग्नेछ
तिर्खा मेट्नलाई
त्यति बेला तिमीलाई एकपल्ट
त्यो डरलाग्दो एकलोपनको याद आउनेछ
अनिँदै जाग्दै बसेका ती रातहरू
अनि टुट्दै झरेका ताराहरूको याद आउनेछ।
तिमीलाई थाहा छैन होला
तिमीले एकपल्ट जानीजानी मरुभूमि मागेका थियौ
अनि मैले क्याक्टस ।
त्यसैले त भनेको
तिमी क्याक्टस म मरुभूमि
अनि
म मरुभूमि तिमी क्याक्टस ।

दार्जीलिङ