समयको ऐनामा
आ–आफ्नो अनुहार हेरेपछि
आफ्नै अनुहारलाई सर्वश्रेष्ठ घोषणा गरेर
एउटै बाटोमा हिँड्न नसकेर
जमिन छाडेर
आकाशसम्म भाग लगाउँदै
आफूलाई प्रमाणित गर्न
छरिएर हिँडेको मान्छे
आज
एकै समय मृत्युु भोगिरहेछौँ ।


दुःखको मरुभूमिमा अभावको तिर्खाले
मरिरहँदा
आँसुको महासागरमा डुबेर
मरिरहेको तिम्रो मृत्युु सहज देखिरहेछ ।


भोकको काँडाले उनिएर
मर्दैगर्दा
सुखको बगैँचामा उन्मादकै फूलले किचिएर
मरिरहेको तिम्रो मृत्यु सुन्दर देखिरहेछु ।

मृत्यु आफैँमा कति सहज हो
थाहा छैन ।
तर
हामी
एकअर्काको मृत्युलाई सहज देखिरहेका छौँ ।

मान्छे
सर्वश्रेष्ठ प्राणी कसरी भयो ?
जसले मृत्युु पनि अरूको सहज देख्छ ।

बाँचेकाहरू
अझै
सर्वशक्तिमान बन्ने लोभमा
आफूजस्तै मान्छेलाई दुश्मन घोषणा गरेर
जीवनको आयतन नापेर
निरन्तर बनाइरहेछ मृत्युको क्षेप्यास्त्र ।

मान्छे
खुब माया गर्छ आफ्नो अस्तित्वको

चाहान्छ आफ्नो इतिहास लेखाउन ।

कुनैदिन
क्षेप्यास्त्रलाई नै
आफ्नो अस्तित्वको लोभ

लागेर आयो भने
मान्छेको अस्तित्व के होला ?
कसले लेखिदेला शक्तिशाली मान्छेको पराक्रम ?
कसले पढिदेला गौरवशाली इतिहास ?

त्यसबेला
हावाहरूलाई चलिरहन
नदीहरूलाई बगिरहन
चराहरूलाई उडिरहन
फूलहरूलाई फुलिरहन
पृथ्वीलाई घुमिरहन
प्रकृतिलाई बाँच्न
मान्छेको इतिहास आवश्यक होला कि नहोला ?