साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हरियो सिउँदो

ए परदेशी
तिमीलाई किन मन परेको
मेरो आँखामा छचल्किएको
आँसुको आख्यान
किन लोभलाग्दो देखेको
मेरो लत्पतिएको गाजलको
गाउँले गीत ।

किन आइपुगेको आँगनमा
अगुल्टो बोकेर झस्काउँन
मेरो आदिम जन्मरेखामा
घोत्लिइ बसेको सुदूर भविष्य ।

जुन दिन खस्यो लालीगुराँस
मेरो सिउँदोबाट
मस्र्याङ्दीको बगर छेउ
र ओडाइदियो समयले
मसान जस्तो सेतो बर्को ।

bahulako diary small and inside post

जुन दिन उडिगयो
पिरतीको पुतली
र तुषारो ओढेर झोक्राइरह्यो सुनाखरी
खडेरीको खास्टो ओढेर सुक्दै गरेका
उजाड मेरा हाँगाहरूमा
किन बर्षियो तिम्रो मोहनी मनसुन
र आँख्ला आँख्लामा
पलाउन थाल्यो विप्लवी प्रेम ।

त्यति नै बेला
फेरि बजाउँदै बजाउँदै पिपिरी
किन सुनाइरह्यौ अन्यौलको आलेख ।

नमर्दै हाम्रो अस्तित्वको आकार
कसरी मर्दै गयो
हामीले मुटु निचोरेर लेखेका
विस्वासका रक्तिम पालुवाहरू ।

थोरै सपना जस्तो
थोरै विपना जस्तो
खोज्दा खोज्दै पनि नभेटिने
नखोज्दा नखोज्दै पनि देखिने
दियौ यो कस्तो कस्तुरी कहर ।

भन ए ! परदेशी
यो अग्लो पहाडबाट
दरारमा खसिसकेपछि
तिमी गाइरहेछौ कस्तो गीत ?
आफ्नै हातले चुन पहरा खोपेर
तिमी हिँड्ने बाटो खोलेपछि
मेरा बा घरी घरी कोल्टे फेर्नुहुन्थ्यो
जसरी
बन्दुक पड्काएपछि
जन्मन्छ बारुदको गन्ध
र चल्मलाउन थाल्छ पछुतो ।

जसरी
आफ्नै नशाले खिपेर
सिलाइदिएपछि सन्तानका पखेटा
उड्दै गएका भरोसाका बचेराहरू हेरेर
सुनिन्छ आमाको गहिरो सुस्केरा ।

भन ए परदेशी !
कहिलेसम्म लिइजान्छौ यसरी
प्रमेको कुरुस
र छोडीजान्छौ
सम्झनाका जाली रुमाल ?

कहिले आइपुग्छ
लिगलिगे उकालो चढेर
मेरो हरियो सिउँदोमा
तिम्रो दस्तखत ?

सुरेन्द्र देवकोटा

प्रतिक्रिया
Loading...