श्री ५ महाराजाधिराजप्रति प्रवासको सद्भावना

अगमसिंह गिरी

अगमसिंह गिरी

भक्तिका दुई फूल चढाउन, मेची तरेर आएको छु
रोदन अश्रुमा फक्री उठेको, फूल लिएर आएको छु !
भेट लिएर आएको छु !!

प्रवासी हूँ तर नेपाली हूँ, अभिमान लिएर आएको छु,
श्री ५ हजुरका जन्म-दिवसमा, यो सम्मान लिएर आएको छु !
भक्तिका दुई फूल चढाउन आएको छु, मेची तरेर आएको छु
आज मेची तरेर आएको छु !!

श्रद्धा अर्पिन पाउँदा यसरी, गौरवले मुटु कसिएको छ
गह कुन्तर यो सुखदुःखको, आँशुआँशुले भरिएको छ !!

भक्तिका यी जलकण मेरा, मौसुफलाई अर्पित छ
दीर्घायुका स्वच्छ कामना, मौसुफलाई अर्पित छ ।

मुटुमा बाँधी बाँधी मैले, सदिच्छा यही ल्याएको छु
भक्तिका दुई फूल चढाउन, मेची तरेर आएको छु
आज मेची तरेर आएको छु !!

रूद्ध कण्ठले जब गीत यही, गाउन भनी यहाँ आएको छु
मसँग मेरो रुन्छ प्रवास, रुदनकै गीत गाएको छु !!

हाम्रो सपना साकार बनोस्, नेपाल समृद्धिशाली बनोस्
नेपाली अभियान उचाली, नेपाल गौरवशाली बनोस् !!

प्रवासको शुभ-सन्देश यही, पोल्टा भरीभरी ल्याएको छु
भक्तिका दुई फूल चड़ाउन, मेची तरेर आएको छु !
आज मेची तरेर आएको छु !!

नेपाल रहेनै नेपालीले, शिर उचाली हिंड़नेछ,
विश्वभरिको नेपालीको, जातित्व सदैव जीउने छ !!

स्वच्छ उज्यालो हिम-पर्वतझैँ, नेपाल निरन्तर चम्किरहोस्,
श्री ५ हजुरका नेतृत्वमा, प्रगति पथतिर लम्किरहोस् !!

राशि-राशि सद्भावना, आज सजाई ल्याएको छु,
४४ सौं जन्म-दिवसमा, मेची तरेर आएको छु !!
आज मेची तरेर आएको छु !!

(उपरोक्त कविता ‘क्रन्दन’ कविताको निम्ति प्राप्त स्वर्ण पदक थाप्न जाँदा त्यही अवसरमा श्री ५ महाराजाधिराजको ४४ औँ जन्मदिवसको (सन् १९६४) उपलक्ष्यमा रेडियो नेपालद्वारा आयोजित कवि गोष्ठीको निम्ति लेखिएको अनि पाठ गरिएको ।)