टङ्क पन्थ
सुगन्ध छर्दर्छौँ भने हिँडे अनन्त मार्गमा
प्रबन्ध गर्दर्छौँ भने गए समस्त स्वर्गमा
बुझी सकिन्न जिन्दगी रहस्य गोप्य तत्त्व छन्
भनी सकिन्न शब्दमा कमालका ममत्व छन् !!
विचार जप्दछन् सबै विचार भित्र तार छन्
चलाख ठान्दछन् सबै हिसाब भित्र बार छन्
डुबे बुझिन्छ मर्मको मुहान वा रुझान हो
सुने सुनिन्छ ढुक्ढुकी सजीव जीव प्राणको ।।
कहाँ छ खोज चक्षुले विवेक मर्नु हुन्न है
समानता फलाक्दछौँ विभेद गर्नु हुन्न है
कतै कुलीन चित्त छन् कतै दरिद्र चिन्तन
स्वभाव भिन्नता झनै अचम्म लाग्छ सिर्जना !!
कुनै मरेछ भोकले कुनै अजीर्ण भै मरे
कुनै सिँढी चढे सधैँ कुनै अभावमै मरे
खटेर काम गर्छ जो भयो सधैँ अधोगति
विचित्रको छ जिन्दगी कहाँ छ खास सङ्गति ?
म सोच्दछौँ सबै यहाँ रवाफकै छ वञ्चना
भएन मोह कर्ममा घुरेर सुत्छ सन्चमा
बिहान हुन्छ आस थ्यो निराश छाउँदै गयो
वसन्त पालुवा सुके उराठ आउँदै गयो !!
फुटाल्न सक्छ को यहाँ जताततै छ पत्थर
छ अग्नि ताप हर्हरी भएन साम्य मत्थर
जलेछ आँत भित्रको ढलेछ माथ तग्दिर
निसाफ दिन्छ को यहाँ झुकेछ न्याय मन्दिर !!
कमान अन्तको भए नठान देश बढ्दछ
लगाम छैन हातमा जमात मात चढ्दछ
नघोक ब्रह्म वाक्यमा विचार सूत्रका कुरा
उकास्नुपर्छ राष्ट्र यो बजार्नु पर्छ पाखुरा ।।
छन्दः पञ्चचामर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।