रामजीप्रसाद आचार्य

तपाईँलाई तार्दा तार्दै
आफैँ तर्न बिर्सेको
म एउटा माझी
आँशुको रहमा
म आफ्नो पीडाको वहना चलाउँछु ।

ए बटुवा दाजु
फुलेको यो शिरमा
मैले पनि एउटा दुःखको सगरमाथा बोकेको छु
हेरेर जानु होला
हेर्नुहोला
मेरो हरमा टाँगिएका झुम्रो होइन
देशको झण्डा हो
एक फेर उचालेर जानुहोला ।

म भन्दैछु
सरकारले त हाम्रो भोक हर्नलाई मानो दिँदैछ रे !
थाहा छैन त्यो किन्नलाई कति थान निवेदन
कति थान नमस्कार
कति थान नगद चाहिने हो ?
म सुन्दै थिएँ
व्याधिको ओखती बाँड्दै छ रे सरकार
थाहा छैन त्यो पाउनलाई
मैले कुन दलको परिचयपट्टा भिरेर जानु पर्ने हो
सम्झेर मेरो आँत सुक्दछ ।
बटुवा दाइ
म सुक्दछु
सरकार सम्झेर
म सरकारको अनुहारमा
भस्मासुर मात्र देखिरहेको छु
बटुवा दाइ
तपाईँलाई तार्दातार्दै
आफैँ तर्न बिर्सेको
म एउटा माझी ।

पोखरा