गोविन्द कडेल ‘आँसु’

 

गोविन्द कडेल ‘आँशु’

छोरा !
आजकाल मलाई उज्यालो चाहिँदैन
अहिले त संसारले चाहेको उज्यालोमा छु
मलाई सम्झना छ त्यो दिन
जुन दिन मेरो आँखाको उज्यालो
तिमीले पहिलोपटक संसार हेरेको भन्दा धुमिल थियो
त्यसै रात त हो, मैले कोठामा बत्ती बालेको
मैले रातभरि कोठामा बत्ती बाल्दा
तिमी रिसाउँदै भन्थ्यौ–
“बत्ती नबाल्नुस् बा !
बिल तिर्न तपाईँले भत्ता दिनुहुन्न ।”

म बत्ती निभाएर नाङ्गो आँखाले
अन्धकारमा उज्यालोको कल्पना गर्थेँ
तिमी
गरिब आमाले जन्माएको
बहुतै धनी छोरा हौ
पूर्णिमाको रातमा आकाशबाट खसेको
म अभागी जून हुँ, छोरा !
नबाल मेरो नाममा कुनै दियो
दियोमा तेल थपेर रातैभरि
नमाग मेरो चीरशान्तिको कामना
तिमीलाई अँध्यारो मनपर्छ
म तिम्रो लागि औँसी सद्बिउ छर्न आउँदिनँ ।