उद्धव गोपाल श्रेष्ठ

डोको र डालीको हरियो खलामा
ग्वालाहरूको असार यहाँ
रसाइरहँदो पाइयो

बालून लयको गोठबाट
दुधिलो छन्द गाईहरू गाउँदो र’छ सुनियो

पनिरको स्वादमा अमूल कम्पनी
रामायण चाखिरहेको देखियो

वृक्षलताको यो अलकापुरीमा
तिमीलाई खोज्न सम्झेथेँ

हरेक बजारको सब्जी मण्डीहरूमा
हाट लाग्नु जस्तो तिमी हुनु
निस्सन्देह यतैकतै
चहल-पहलदेखि सायद
टाढा यता पनि
भानु तिमी !
कि घुम्ती बीचको चौतारीमा
पलेँटी कस्सेर बसेको हुनु
कि फाटकमा हावा खानु
उदेक लाग्नु लाग्यो

अर्ती दिन छोडेर घाँसको विकासमाथि
माग पत्र चढाउन दरिद्र घाँसीहरू

गाई बाँडेर कमिशनमा टेण्डर सुँघ्दै
हिंड्न तारापति भाटहरू

कुवा र कुलो खनेको बील खेप्न
गजाधर सोतीहरू
यो दफ्तरमा आइरहने बेला-बखत
हुँदो र’छ चिनियो

यद्यपि कुमारीचोकबाट फुत्केपछि भने
तिमीलाई चिन्न‌ै छाडेछ थाहा पाइयो

संयोगले-
जागीर पाक्ने मेरो कोठा
ठीक तिम्रो आँगन छुने गोरेटोमाथि
दफ्तर भइदियो

गर्दन फर्काएर देब्रेतिर पुलुक्क
कहिले – कहिले
हेरिमात्र देऊ त
कुनै न कुनै दिन ठम्याउने छौ
म पनि तिम्रोजस्तै
कविता कोरेको हुनु
र / तिमी भएरै होला भानु !
यस्तो लाग्दो ठानियो
कि / तिमीलाई नदेखे त
कविता यहाँ नलेखे हुन्छ ।

रंगेली, सिक्किम

देन्ताम खण्ड विकास कार्यालय पश्चिम सिक्किम परिसरभित्रै भानु – प्रतिमालाई दृष्टिगत गरेर रचित ।
अमूल दूध कम्पनी देन्ताममा सञ्चालित अवस्थामा रहेको ।