
कृष्ण खत्याडी
मलाई सधैँ सपनामा झस्काउने गर्छन्
ती वीर गोर्खालीका जिउँदा आत्माहरू…
आज साँच्चै
MCC र BRI ले गाँज्दै गर्दा
विदेशी नाराहरू गुन्जिन्दै गर्दा
बिसे र मनिरामहरू रुँदै सोध्ने गर्छन्
खै कहाँ छन् !
हामीले जगाएका राष्ट्रवादका
चम्किला र सुनौला चेतहरू
राष्ट्रका पक्षमा सधैँ जग्जगाउने
राष्ट्रभावका आवाजहरू
आज साँच्चै
सीमानाका पिलरहरू बिकिरहँदा
नदीनाला कौडीको भाउमा साटिरहँदा
अमरसिंह र बलभद्रहरू सोध्ने गर्छन्
खै कहाँ छन्
शत्रुका मासु काँचै खाने
नेपाली ती, वीर गोर्खालीहरू
कीटपतंगलाई समेत राष्ट्रियतामा
उठाउन सक्ने जोशका आँधीबेरीहरू
आज साँच्चै
SSB ले पिलरहरू फ्याँक्दै गर्दा
सिमानामा हाम्रा जनता कुटिँदै गर्दा
भक्ति थापाहरू सोध्ने गर्छन्
खै कहाँ छन् !
सार्वभौम देशका लागि
बम बारुद छेक्ने छातीहरू
अर्काको गुलामीविरुद्ध
मर्ने-मारिने आँट र हिम्मतहरू
आज साँच्चै
CIA ले योजनाहरू बुन्दै गर्दा
RAW ले राष्ट्रियता खरिद गर्दै गर्दा
वंशु र झागलहरू सोध्ने गर्छन्
खै कहाँ छन् !
किनलोकहरूलाई
ढ्याङ्ग्रो ठोक्ने हिम्मतहरू
शत्रुहरूका बीचमा
जासुसी र हमला गर्ने आँटहरू।
आज साँच्चै
खण्ड खण्डमा देश बाँडिदै गर्दा
जातजातिमा पर्खालहरू ठडिँदै गर्दा
पृथ्वी बाजे सोध्ने गर्छन्
खै कहाँ छन् !
त्यो सबै जातका
फुलेका साझा फूलबारीहरू
सबै फूलका मिश्रित
सामाजिक सुगन्धहरू ।
आज साँच्चै
देशको अस्तित्व मेटिनै लाग्दा
टिस्टा सतलजझैँ मेचीकाली रुँदै गर्दा
खै कहाँ छन !
हामी गोर्खाली हौँ भन्ने
प्यारा र न्याना ढुकढुकीहरू
शत्रुका गोली बारुद
छेक्ने ती सिमानाका आँटहरू।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

