तारे भीरको अक्करमा
घाँस काट्दै गर्दा
मेरी आमाले
जन्माएको म
तब न अक्करे

बाउन्न हण्डर
त्रिपन्न ठक्कर
चौरासी चक्कर
खाँदै हुर्केको म
तब न अक्करे

धुलोमा बाल्यकाल मिलाउँदै
दुलोमा टालो सिलाउँदै
वैंशमै निधार खुम्चिएको म
तब न अक्करे

आँखा अघिल्तिर
एउटा दुस्मन छ
ऊ मलाई अतिनै घृणा गर्छ
तर
म उसलाई उत्तिकै प्यार गर्छु
सदैव

मेरा मुहारमा खुशीका
घाम जून नउदाओस् भन्छ
स्वतन्त्र वहने
प्राकृतिक हावा
मेरो घरको
आँखीझ्यालबाट
नपसोस् भन्छ


मेरो वनकुञ्जमा
वसन्त नआउनु भन्छ
आँगनमा फुल्ने
वेली चमेलीले
नमगमगाउनु भन्छ
मेरो हजुरबा हजुरआमाले
नातिनातिना
नखेलाउनु भन्छ
उसले सुन्नेगरी
मेरा सन्तानले नकराउनु भन्छ
उसलाई दुख्ने गरी
म र मेराले नरमाउनु भन्छ
घर नजिकै
रहेको मन्दिरमा
प्रत्येक बिहान
शंख घण्टा
नबजाउँनु भन्छ

ऊ आफ्नो
घरको कौशीमा बस्छ
नजर परसम्म धस्छ
बाटो हिँड्ने जो कोही
मेरो घर कोसेली उपहार
लिएर नपसोस् भन्छ
मन्दिरबाट फूलप्रसाद
आशीर्वाद थाली लिएर
फर्किएका वृद्ध वृद्धा
वरपीपलको चौतारीमा
नबसोस् भन्छ
ऊ मेरो घरको छानामा
पिरती बास्ने परेवा
नआओस् भन्छ

उसलाई मेरो
तन मन पर्दैन
वचन मन पर्दैन
मेरो मुटुको
धड्कन मन पर्दैन

त्यति मात्रै कहाँ हो र!
उसलाई
मेरो खेतबारीमा
अन्न झुलेको
बगैंचामा
मौरी भुलेको
म माथिको
आकाश खुलेको
सुख्खा पहरो रसाउँने
पानी डुलेको
झन् मन पर्दैन

यो झरीले
किन भत्काउँदैन
भूकम्पले धरमराएको
मेरो घर ?
पल्लो गाउँ बगाउँने खोलो
किन
मलाई बगाउँदैन ?
मुढो जलाउने झिल्काले
मेरो घुँडो
किन जलाउँदैन ?
किन अग्नि मौन छ ?

ऊ मेरो
स्वएरकल्पनाको
संसारमा
मरुभूमि परोस् भन्छ
आँधीबेहरीले
उडाएका धुलो
मेरो आँखामा
परोस् भन्छ
म निदाएको राति
मौका छोपेर
भकारीमा
चोर घुसोस् भन्छ

तर

मलाई
जतिनै घृणा गर्छ
म उसलाई
उत्तिकै प्यार गर्छु

यो जगतमा
ऊ भन्दा फगत अरू
मेरा
जीवन संघर्षका
आयायममा
घुलित सम्बन्धहरू
समयतालिका
जुटाउने प्रवन्धहरू
एउटै कतै कोही छैन
जसले आफ्नै
रहरका सपना भुलेर
सिङ्गो ब्रह्माण्ड भुलेर
चराचर जीवात्मा भुलेर
मलाई बुझ्न सकोस् त !
मलाई सम्झोस् त!
दुस्मन कमाउनु

पाउनुको फाइदा

सायद !
यदि दुस्मन
नहुँदो हो रहेछ त
जीवनको
छुट्टै रमाइलो पाटै
छुट्नु रहेछ

तसर्थ :
उसले मलाई
ढुङ्गा मुढा हानोस्
पत्थरको जवाफ
म उसलाई
फूलको गुच्छाले
स्वागत गर्छु
उसले मलाई
जतिसुकै घृणा गरोस्
त्यति नै उसलाई

प्यार गर्छु
किन कि
पहरोमा कुहिनो
ठोकाउने न परेँ म
तब न अक्करे !

गजुरी, धादिङ