मलाई साना मान्छेहरु मन पर्छ
साना मान्छे,
जसका लामा हात हुदैनन्
जसका फिजारिएका पाइताला हुदैनन्
जसका गरुङ्गा आवाज हुदैनन्
जसका भारी छाती हुदैनन्
साना मान्छे,
जो बडेमानका सपना देख्दैनन्
बरु जिउने गर्छन् अलि अलि रहरमा
जो उड्ने महत्वाकांक्षा राख्दैनन् सगरमा
बरु छोटा छोटा पाइला चाल्छन् आफ्नै आँगन अनि डगरमा
मलाई साना मान्छेहरु मन पर्छ,
जो अग्ला पर्खाल हैन
पुड्का तगारो उभ्याउछन् घरमा
र पनि जो अध्याँरा रातमा
होचो छतमुनि, साँघुरो कोठामा
निर्धक्क निदाउन सक्छन्
हामीलाई सधै
ठुलो मान्छे बन्न भनिन्छ, सिकाईन्छ, बताईन्छ
मलाई साना मान्छेहरु मन पर्छ
जो आफ्नो लघुताको आभासमा
बिना कुनै लघुताभास
दुइटा पैताला मुनि
एउटा जिन्दगी बाँचेका हुन्छन्
साना मान्छे,
जो बडेमानका सपना देख्दैनन्
बरु जिउने गर्छन् अलि अलि रहरमा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
