प्रतिभा चौहानका कविता

अनुवाद: बिलोक शर्मा
बुद्ध कि बुद्धु

एउटा घामको टुक्राले
मैले धेरै रङहरू बनाएकी छु
उदासीपनलाई उपेक्षाको ह्याङ्गरमा झुण्ड्याएकी छु
तनावलाई अनुहारबाट मेटाएकी छु
बेअर्थ हाँस्नलाई मैले स्वाभाविक ठानेकी छु
टाढाबाट केही नओढी अतीतलाई चिहाउने गर्छु
इच्छानुसार जिन्दगीको गाडीलाई रोक्ने गर्छु
खुल्ला हृदयले रमाउने गर्छु
चिन्तालाई चिता बनाएर पहिल्यै मारिदिएकी छु
वर्षाबिना नै भिज्ने गर्छु

सबैले मलाई बुद्धु भन्ठान्छन्
अनि, म हाँसिरहन्छु
म बुद्ध त बन्न सक्दिनँ
तर बुद्धु बन्न चाहन्छु
किनकि कसैले भनेका थिए
कि त बुद्ध सुखी छन्
या त बुद्धु….
*******
रुखमा माछाहरू छन्
रुखमा माछाहरू छन्
किनकि उनीहरूबाट हामीले समुद्र खोसेका छौँ
हामीले उनीहरूका आँखामा
तीर चलाएका छौँ
हामीले खोसेका छौँ उनीहरूका सुसेली
जसद्वारा आफ्ना व्यथा सुनाउँथे उनीहरू….
रुखका पातहरू हरिया छैनन्
बादलका रङ्गोली
अब दृश्यमात्र भएका छन्
जसबाट बनिन्छन् केवल रङ्गीन चित्रहरू
उनीहरू छोप्न सक्दैनन् तिमीभित्रका चिराहरू
किनकि तिमीले पठाइदिएका छौ
मनभरि घाउ
दुखाइका भारले जो पिरोलिएका छन्
उनीहरू अब बर्सिदैनन्
फाट्छन्।
(डुवर्स, भारत)
*****
कवि परिचयः कविता, कथा, लेख, निबन्ध लेख्नमा सिद्धहस्त प्रतिभा चौहान भारतको बिहारबाट हिन्दी साहित्यकी प्रतिनिधि सर्जक हुन् ।
उनका कृतिहरू- ‘चुप्पियों के हज़ार कंबल’, ‘जंगलों में पगडंडियाँ’, ‘बारहखड़ी से बाहर’, ‘पेड़ों पर मछलियाँ’ (प्रकाशोन्मुख) कविता सङ्ग्रह छन् ।
भारतभरिका विभिन्न पत्र-पत्रिकाहरूमा उनका रचनाहरू निरन्तर प्रकाशित हुने गर्छन् एवम् उनी विभिन्न साहित्यिक पुरस्कारले सम्मानित भइसकेकी छन्। पेशागतरूपले चौहान बिहार न्यायिक सेवामा न्यायाधीशका रूपमा कार्यरत छिन्।