साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता : हालसाल मेरो गाउँ

Chovar Blues Mobile Size
डिल्लीराम खनाल (असम)

यौवन शून्यप्रायः बनेको छ

अचेल मेरो गाउँ

केवल शैशवको कलरव प्रौढत्वको सुस्केरा

वृद्धत्वको आँसु छ ।

 

छन् यहाँ केही त्रासित मनहरू

sagarmani mobile size

दुखेका मुटुहरू शृङ्गाररहित अनुहारहरू

उजाड उजाड सिउँदाहरू

अनिँदा रातहरू उराठलाग्दा दिनहरू

खट्पटी छट्पटीहरू

अय्या, आत्था र खुइय्यहरू ।

 

छन् आँसुमा डुबेका उदास उदास बाटोमा

ओछिएका धेरै आँखाहरू !

ढोकासम्म पुग्न नसक्ने

केही पाइलाहरू पनि छन्

अनि दिनहुँ मन्दिरमा गई फूल चढाउने

केही हातहरू छन् ।

छन् यहाँ अनगिन्ती समस्याहरू

बग्रेल्ती अप्ठ्याराहरू थुप्रै विवशताहरू

भोक, शोक र गरीबीहरू

अनेकौं अभिलाषाहरू केही मूल्य र मान्यताहरू ।

तर छैनन् यहाँ केवल

बैँसालु जोस, जाँगर र आँटहरू ।

किनभने अर्कै कसैको हक र हितको लागि

आफ्नो हक र हितलाई बन्धक राखेर

आफ्नो वर्तमानलाई अलल्याउँदै

विदेशिएका मेरा गाउँका

जाँगरिला बैँसहरू लीलाम भइरहेछन्

टाढा टाढा पुगेर रङ्गीबिरङ्गी बजारहरूमा

पाले बनेर त्यहीँकै ढोका कुर्न विवश

बनेकाछन् योग्यताका उच्चतम दस्तावेजहरू पनि ।

 

पानीकै मोलमा बिकिरहेछन

मेरा गाउँका तन्नेरी शरीरका रगत र पसिनाहरू

त्यहाँ एक उद्विग्नतापूर्ण,

कहालीलाग्दो वर्तमानमा

अनिश्चित भविष्यको अन्योल पर्खाइमा

बितिरहेछन दिनहरू, उमेरहरू ।

 

यता उदास, उराठ छन्

गाउँहरू बाँझा बाँझै छन्

एकदिन लहलह बाली उब्जाउने

शस्यश्यामला खेतबारीहरू उजाडिएका छन्

एकदिन अमृतको खोलो बगाउने गोठहरू ।

अर्कै कसैले आज यहाँ लुटिरहेछन्,

चुसिरहेछन् गाउँका सबै सम्पदाहरू

दिनदिनै रजाइँ गरिरहेछन् ढलीमली ।

उता अरूकै स्वस्ति गरेर भए पनि

बकसिस् थाप्नमा नै तल्लीन छन्

मेरा गाउँका यौवनहरू

देशको सीमानापारि टाढा टाढा पुगेर

केवल अर्काको दया र अनुग्रहमा बाँचिरहेछन् ।

प्रतिक्रिया
Loading...