साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सहरको छिमेकी

कविता

Chovar Blues Mobile Size

हाम्रा घरहरुले कुम जोडेर उभिएको वर्षौं भयो
अझै म उनलाई चिन्दिनँ
र उनी मलाई चिन्दिनन् ।

मेरो छानो छोएर झर्ने बलेँसी
उनको आँगनमा खस्छ
उनको करेसाबारीबाट सिमीको बोट
मेरो पर्खाललाई अँगालो हालेर उभिरहेको हुन्छ
उनको र मेरो दूरी
एउटै अनुहारका दुई आँखाको जस्तो छ
तर
सम्बन्धमा भोक र गरिबी नाक बनेको छ ।

बरू मेक्सिकन हाइजम्प गरेर
सिमानाको पर्खाल नाघ्दै अमेरिका छिर्ला
छिमेकी गमलामा मुस्कुराइरहेको फूल
गमलामै ओइलाई झर्छ
मेरो पूजा कोठामा सजिन पाउँदैन ।

छिमेकी नदुखोस् सम्झिएर
यस्तो लाग्छ
मैले पालेको कुकुर आवाजविहीन भुकोस्
आफ्नै बेडरूममा मेरा नानीहरू
मन खोलेर बाल गीत नगाऊन्
कतै आँट गरिहाले भने
अन्तिम चेतावनीको धम्की
लेटर बक्समा आएर मलाई नकुरोस् ।

असामाजिक हुनु पहिल्यै
म बिन्तीपत्र लेख्छु—
प्रिय छिमेकी,
हामी खुसी साट्दै छौँ
दशौँ वर्षगाँठमा
आफन्तहरू रमाइलो गर्न सक्छन्
थोरै हल्ला तिम्रो घर पनि आइपुग्ला
माफी चाहन्छु ।

मेरी छिमेकी
गुलाबी गाडीमा ग्यारेज भित्रैबाट यात्रा सुरु गर्छे
र ग्यारेज छिरेर यात्रा टुङ्याउँछे
कतै गुलाबको बोटमा पानी हाल्दै गर्दा आँखा जुध्यो भने
लाग्छ ऊ एउटा जलपरी हो
ऊ आफैँ सुन्दर गुलाब हो
दुवै थोरै मुस्कुराउँछौँ र निशब्द बोल्छौँ
हामी बस दुई बारका छिमेकी न हौँ ।

sagarmani mobile size

छिमेकी
मेरा गल्तीबाहेक
सबथोकमा आँखा चिम्लिन्छे
रुटिनभन्दा फरक दिन
घाँसमा पानी पटाएँ भने
सरकारलाई पोल लगाउँछे
सोच्दी हो उसको गोजीलाई दिन लागोस्
बच्चाले उडाएको रकेट उसको ब्याकयार्डमा खसेको उनलाई मन पर्दैन
टुरिष्ट बाआमाले उनकै तिर फर्किएर टोलाइबसेको उनलाई मन पर्दैन ।

यो फिक्का हुँदै गएको सम्बन्धमाथि
थोरै कमेरोको रङ पोत्न
बोलाऊँ लाग्छ छिमेकीलाई माघे संक्रान्तिमा
र चखाऊँ लाग्छ चाकु र घर तरुल
च्यातिओस् अछिमेकी सम्बन्ध
तर डर लाग्छ
घरबाटै आफ्नो डिनर प्लेट बोकेर आउली
फेरि पखाल्ली रहरको रङ ।

छिमेकी बारीको सुन्तलाका जराहरू
निःसंकोच मेरो जुठेल्नासम्म चरेर जान्छन्
म केही बोल्दिनँ
तर
आजसम्म मैले उसको ढोका पनि ढक्ढकाएको छैन
आगोको बीउ अन्तैबाट ल्याउँछु
हतारमा केटाकेटीहरू हेरिदिए हुन्थ्यो भनेर
यो मन सोच्न पनि खोज्दैन
मेरो आँगनमा एम्बुलेन्स देख्दा
तँलाई कस्तो छ भनेर हाल खबर सोध्दिन
प्यारामेडिक्सको सिक्स प्याक शरीर
र पाखुराको ट्याटुमा आँखा कुदाउँछे ।

यो अदृश्य छिमेकी पर्खाल सम्झँदै
म यतिबेला
महलको माथिल्लो तलामा उभिएर
पिउँदै स्कटिस स्कच
रिवाइन्ड गरिरहेछु दिमागको रिल
जहाँ रेकर्डेड छ सुदूरको गाउँ
जहाँ छिमेकीहरु मेरो अँगेनुमा फलेको आगो खान्थे
र हामी दुवै अगाउँथ्यौँ ।

अस्ट्रेलिया

प्रतिक्रिया
Loading...