कवि परिचय

योगेन्द्र प्रधान (१९९८) नेपालभाषामा आधुनिक कविताको थालनी गर्ने सशक्त कविहरूमध्ये पर्छन् । जनस्वास्थ्य विषयमा विद्यावारिधि गरेका उनका तीन कविता–सङ्ग्रह प्रकाशित छन् ।

हलचल, खलबल र बेचैन

डा. योगेन्द्र प्रधान

कतै बाँझो बगरमा लम्पसार पर्नेहरू
वा कतै ढुंगाको खोंचमा पुगेर
छ्यालबिछ्याल हुनेहरू
यो महासागरका छालहरूले मलाई बोलाइरहन्छन्—
हेर !
हेर ! सम्म परेको ठाउँबाट नदेखिए पनि
उकालो चढ
डाँडामाथिको हिमाल
त्यसमाथि पनि सबभन्दा अग्लो सगरमाथाबाट नदेखिए
त्यहाँबाट पनि
एभरेष्टको टाउकोमा टेक्ने
तेन्जिंगको टुपीमा उभेर हेर !
अणुबमको प्रहारबाट भूकम्प गएको
मभित्रको आत्मा मात्र हैन
बरु बाहिर मेरो छातीमा
तल–माथि गर्ने एउटा गति, एउटा क्रममा परेका
करङ्गहरू नै पनि कति खलबल, कति हलचल !

“कति खलबल र हलचल”
म नयाँ सडकको चिप्लो बाटो कराइरहेछु
कराइरहेछु म नयाँ सडकको चिप्लो बाटो ।
“कति हलचल र खलबल”
म मुस्ताङ्गको गल्ड्याङगुल्डुङ बाटो कराइरहेछु
कराइरहेछु म मुस्ताङ्गको गल्ड्याङगुल्डुङ बाटो !
“कति हलचल र खलबल”
बुल्डोजर र ट्याक्टरले किचेको
म माटोका कणकण कराइरहेछु
कराइरहेछु म माटोका कणकण ।

कैयौं ह्वाङ्ग परेका माटाका गाग्रीहरूको पेटमा पुगेर
सुस्केरा छाड्ने
वा साँघुरा पर्खालभित्रको ढलबाट बगेर
जिल्लिँदै आकाश हेरिरहेका
खेतसँगै म्वाई खाने
त्यो ढुङ्गेधाराले मलाई बोलाइरहेछ—
हेर !
हेर ! म शुष्क, कलेटी परेका मेरा ओठहरू
मेरो अगाडि उभेर नदेखिए पनि
ए ! एक्सरेको किरण जस्तै
भित्र््याऊ तिम्रो आँखा यो वसुधाको छातीमा
जापानको फुजिमाया मात्र हैन
त्यहाँभित्र लुकाइएका छन्
कैयौं उद्विग्न ज्वालामुखीहरू !
सुकेको छ मेरो मुहान त्यसैले
त्यसैले कति गाग्रीहरू छन् बेचैन !
“हो बेचैन ! बेचैन ! !”
म हप्तौंदेखि कक्रिएको आन्द्रा कराइरहेछु
कराइरहेछन् सुकेका आन्द्राहरू !
“हो बेचैन ! बेचैन ! !”
म महिनौंदेखि चिसिएको चुल्हो कराइरहेछु
कराइरहेछु म चिसिएको चुल्हो ।
“उफ् ! हलचल, खलबल र बेचैन !”
यो घण्टाघरको आवाज हो ।
“उफ् ! हलचल, खलबल र बेचैन !”
यो बुद्धको अन्तस्करण चिच्याइरहेको स्वर हो ।
“उफ् ! हलचल, खलबल र बेचैन !”
यो डाँफे चराको क्रन्दन हो !
“उफ् ! हलचल, खलबल र बेचैन !”
यो हिजो, आज र भोलि गाँसिएको आवाज हो ।

स्रोतः नेपालभाषाका केही आधुनिक कविता (२०४९, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान)