साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता: अविराम जीवनयुद्ध

Chovar Blues Mobile Size

डा. बालाकृष्ण अधिकारी

डा. बालाप्रसाद अधिकारी

हजारौँ युद्ध जितेर जीवनका
तिमीले आफैँसँग हार्नुहुँदैन
हजारौँ सिरानी हालेर सपनाका
तिमीले आफैँलाई मार्नुहुँदैन
फर्क, मेरो साथी फर्क !
प्रिय साथी !

ऊ हेर त त्यो डाँडाको एक्ले वर
के त्यो रुँदै हिँडेको छ र !
सहेर वर्षौंवर्ष
अनेक झरी र खडेरी
वसन्त आउँदा नआउँदै
एक छिमल खुसीका पालुवा निकालेर
उकालो उक्लेका बटुवालाई
शितल छहारी दिइरहेको छैन र त्यसले !

तिमी भन्छौ
एक्लै रात काट्न गारो छ यो अँध्यारोमा
ऊ त्यो आकाशको जूनलाई हेर त !
यो पुषको चिसोमा
के त्यसको चमक कम भएको छ र !
बिर्सेर कैयौँ अनिँदा चिसा रातहरू
आफू हुनुको कला देखाइरहेको छैन र त्यसले !
जीवन रहेसम्म
यसरी ससाना युद्धमा हार खायौ भने तिमीले
यो सकल युग तिमीसँगै हार्नेछ
यो समग्र प्रकृति तिमीसँगै हार्नेछ
पक्कै तिमीलाई कहिलेकाहीँ
आफैँसँग हारेहारे झैँ लाग्न सक्छ
पक्कै तिमीलाई कहिलेकाहीँ
आफैँलाई मारेमारे झैँ लाग्न सक्छ
पर्ख, सोच र हेर त्यो सुदूर भविष्यलाई
आफ्नै इतिहास हेरेर गौरवान्वित हुनु छ भने
यो कालो रातलाई चिरेर अन्तष्चेतनाले
जीवनका उखडबाखड बाटाहरू
अविराम हिँड्नै पर्छ तिमीले !

ओ प्रिय साथी !
यत्ति बुझ
जीवन भनेको
फूलैफूलको बगैँचा मात्र हुँदै होइन
झरेका पातहरूको मूर्च्छनामा
तुषारोलाई प्रेम गर्ने
शिशिरको सिक्रो रूख मात्र पनि हुँदै होइन !

sagarmani mobile size

पर्खिन सक्नुपर्छ-
मोहनजोदारो र हरप्पाका कथा पढ्न पाइन्छ
हिटलर र इदि अमिनका इतिहास सुन्न पाइन्छ
हार खाए झैँ लाग्यो भने तिमीलाई
नबिर्सेर हेर्नु है !
ऊ, परको त्यै एक्ले वर
पटकपटक नाङ्गिएर पनि शिशिरमा
कसरी हराभरा भइसक्छ वसन्तमा !
ऊ, परको त्यै चिसो जून
खिइँदैखिइँदै अँधेरीमामा
कसरी पूर्ण भइसक्छ उजेलीमा !

मेरो प्रिय साथी !
आफैँलाई मार्नेले
जिन्दगीको महायात्रा कहाँ हिँडेको छ र !
आफैँसँग हार्नेले
जिन्दगीको महायुद्ध कहाँ जितेको छ र !

त्यसैले त
हजारौँ युद्ध जितेर जीवनका
तिमीले आफैँसँग हार्नुहुँदैन
हजारौँ सिरानी हालेर सपनाका
तिमीले आफैँलाई मार्नुहुँदैन
फर्क, मेरो साथी फर्क !

 

लेखक परिचय

डा. बालाकृष्ण त्रिभुवन विश्वविद्यालय, केन्द्रीय विभागमा नेपाली भाषासाहित्यका उपप्राध्यापक हुनुहुन्छ । नेपाली साहित्यको इतिहास लेखनः सर्वेक्षण र विश्लेषण (२०६६), संस्कृत साहित्यशास्त्रको प्रायोगिक स्वरूप (२०५९), नेपाली साहित्यको काल विभाजनः ऐतिहासिक विश्लेषण (२०५९), नेपाली साहित्यको इतिहास लेखनका आधार (२०७६), मार्क्सवाद र साहित्येतिहास (२०७७) जस्ता पुस्तकसँगै दयाराम श्रेष्ठसँगको सहलेखनमा साहित्यको इतिहास (२०७७) समेत लेख्नु भएको छ । उहाँले नेपाली साहित्यको इतिहासलेखनका पद्धति विषयमा विद्यावारिधि गर्नु भएको छ ।

प्रतिक्रिया
Loading...