माधव भण्डारी

राजनीतिका पदहरू बजारमा छन्
द्रव्य, नाता र कृपाको मूल्यमा बेच
र भन त्यो श्रमजीवीलाई, बुर्जुवा
अर्थतन्त्रको विरुद्धमा लड्नु पर्छ।

आफूलाई द्वन्द्वात्मक भौतिकवादी भन्नेहरू
आफ्नै भक्तिभाव र पूजा गर्ने गुट बनाऊ
र भन यी इमान्दार कार्यकर्तालाई, हामी
लेनिनवादी संगठनात्मक पद्धतिलाई अँगाल्नु पर्छ।

संगत दलाल, भ्रष्टाचारी र माफियाको गर
हस् बहादुर बन, जस बहादुर बन
र भन आफ्नै साथीका नोकर चाकरलाई,
हामी वर्गीय असमानताको विरुद्धमा लड्नु पर्छ।

हाम्रा नेता सरकारी स्कुल पढेको मान्छे
निजी शिक्षाको विरुद्धमा लडेको मान्छे
सन्तति शैक्षिक माफियाको दरबारमा राख्दै
भन जनतासँग शैक्षिक समानताको लागि लड्नु पर्छ।