गोविन्द कडेल आँसु

जब एउटा बीज मर्छ आफ्नै धरातलमा
तब मात्र शुरू हुन्छ
विरुवाको अर्को जीवन-यात्रा ।

मृत्यु सम्झँदा नै डग्मगाउँछ मान्छे
सुनामीजस्तै भयानक प्रलयको कल्पना गर्छ
तर समय प्रवाहको हरेक सुसाइले भनिरहेकै त हुन्छ–
जीवन र मृत्यु त मात्र भ्रम हुन्
जीवन भन्नु रूपान्तरणको एक अविछिन्न प्रक्रिया हो ।

मृत्यु के हो र ?
जीवन मेटिँदै जाँदाको साक्षी त हो
सम्झेँ कथाका पात्रहरू, अनुहारहरू
परिचित र अपरिचित अनुहारहरू
पढेँ धेरै बेर र सोचेँ,
शुक्र माझी र बालक बीचका कथा
बीज, विरूवा र जराको कथा
जुन बीज बिरूवाको जरामा
झिनो आशाको जीवन बोकेर अल्झिरहेको छ।