मीनाक्षी मगर

मीनाक्षी मगर

कहाँ बिर्सन सकेँ ?
नकको नथिया
गोठालो जाँदा खेलिने
साना साना पाँच ढुङ्गाको गोट्टी
पचास ढुङ्गाको छिम्काई र काँइयो
भरे साँझ जुनेली रातमा
खेलिने खेल
अँगेनाको देवतासँग मागेर खरानी
खेलिन्थ्यो बूढीको घर
अनि कबड्डी

पाउरोटी चप्पल काटेर
फियो खेलिन्थ्यो
दुवै हात भुईंमा राखेर
उर्कुसी मुर्कुसी खेलिन्थ्यो
घामकीरीको पुच्छरमा
लामो धागोले बाँधेर हेलिकप्टर बनाई
उडाएको मजा बेग्लै थियो
ईन्टु मिन्टु लण्डनमा र दाल भात खिचडी
खेल्नुको मजा बेग्लै थियो

शनिबारको दिन
खोलामा पौडी
रोटी बुढीको केरा ढल्यो भन्दै
पानीमा ढाड पछार्थ्यौं
भाले कि पोथी भनी पानीमुनि
बूढी र चोर औँला झत्कार्थ्यौं

अहँ
बिर्सन सकिएन
माटाको थुप्रोमा
टुकुनी बुढी ढोका खोल भन्दै
चोर औँलाले माटो खेलाएको
आकाशमा इन्द्रेणी देखा परे
मेरो कपाल लामो भन्दै
दुई चुल्ठी तनक्क तानेको

बिर्सिएको छैन
खेत र बारीको कान्लै कान्ला
लुकामारी खेलेको
साइकलको बेकामे टिउ काटेर
चुङ्गी खेलेको
माटाको भात र पातको तरकारी बनाई भाँडाकुटी खेलेको

ताजै छ अझ पनि
दशैँमा टीका लाएर एक रुपियाँ पाउँदाको खुशी
तिहारमा तीन चार जना मिली
रेडियोमा सुनेको गीत धुनसहित
मुखले गाउँदै खेलिन्थ्यो भैलो
ताजा ताजा नै छ
बालापनका ती यादहरू
थोत्रा मक्किएका उटपट्याङ बानीका साथ
च्यत्तिएका कपडा ती मैलो