सुशील नेपाल

समयले मलाई धेरै चोटी सतायो,
कहिले आगो लगायो,
ठूलो थिएँ, सानो बनायो,
बलियो थिएँ लुते बनायो,
मैले मेरो आँगनमा विभिन्न नाटक हेरेँ,
दाजुले भाइ, भाइले दाजुको टाउको फुटालेको देखेँ
निरक्षर औंठा छापहरू मेरो बुई चढे,
म पिंतलको सिंहमा झण्डा बोकेर
अहोरात्र मानवरूपी दैत्यहरूको नग्न नाच
टुलुटुलु हेरिरहेँ,
बोल्न चाहन्थें, बोल्न सकिनँ,
स्थुल थिएँ, चल्न सकिनँ,
यहाँ कसैले मेरो भावना बुझेन,
मेरो छाती त चोरहरू लुक्ने ओंढार नै रहेछ.
हूलका हूल डाँकाहरू छिर्छन्,
तेरो भाग यो, मेरो भाग यो भन्छन्
म टुलुटुलु हेर्छु,
वेदना र ग्लानिको थूक निल्छु,
हात जोड्छु बिदा भएको समयलाई फर्क भन्छु,
पुराना जान्छन्, नयाँ डाँकाहरू आउँछन्
मुठ्ठीमा भ्रमको र आतङ्कको पिरो खुर्सानीको धूलो बोकेर,
मेरो रक्षामा-
म तिर कोई बढे त्यसैले प्रहार हुन्छ,
कसैले सकेन बचाउन मलाई,
एउटा अवला नारीको अस्मिता भएँ म,
मौका कुमौका लछारिन्छु, पछारिन्छु,
चिन्नु भएन अझै ?
मेरो नाम सिंहदरबार हो,
मेरो साक्षी यो समय हो !