दिनेश घिमिरे

सानु छदाँ बाबासँग हरेक बिहानी जित्थे
बिहानलाई साँझ भन्थे साँझलाइ बिहानी
बाबा मेरो हो मा हो बनाई स्वीकार्नु हुन्थ्यो
मेरो बाबा मसँग हरेक पलमा हार्नु हुन्थ्यो
म हरेक विहान अनि हरेक साँझ जित्थे
आज म बिहानीमा छु बाबा बिहानी उस्तै
म सँग फेरि पनि खुशी खुशी हारिदिनुहुन्छ।

म बिल्कुल चाहान्न  बाबासँग दिनलाई जितौँ
म बिल्कुल चाहान्न बाबासँग साँझलाई जितौँ
आज समय फरक जस्तो आभाष भैरहेछ
बाबा मलाई हरेक यादहरूमा जित दिनुहुन्छ
मेरो बाबासँग जित हार हैन बिश्वास चाहन्छु
म बाबालाई नहराई प्रतिबिम्ब बन्न खोज्छु
समय मेरो बाबालाई हराउन खोज्दै छ
म बाबालाई हार्न दिन्न समय बिरूद्धमा छु।

कैयौं कल्पनामा म बाबासँग जुद्थे लडथे
कैयौं सपनामा म बाबासँग जुद्थे लडथे
म हरजुक्तिले बाबालाइ हराउथे अनि जित्थे
जित्दै गर्दा बाबा सहज मसंग हारिदिनुहुन्थ्यो
आज यथार्थमा बाबालाई जिताउन खोज्छु
समय हरेक साँझ बाबालाई हराउन खोज्छ
म बाबालाई हार्न दिन्न समय बिरूद्धमा छु।

म मेरो बाबाको सहज जित चाहान्छु आज
समय घरि घरि बिरूद्धआवाज दिईरहन्छ
कहिले कसको नामबाट कहिले कसको
कहिले कसको बिषयबाट कहिले कसको
र पनि बाबा मेरो समयसँग जित चाहानुहुन्छ
समय बाबाको हार लेख्न अनेकौं प्रयत्न गर्छ
म बाबालाई हार्न दिन्न समय बिरूद्धमा छु।

विरूवा, भक्तपुर