Chovar Blues Mobile Size

यशोदा गिरी

मलाई उचाईले खुशी लाग्दैन
किनकि उचाईमा पुग्दै गर्दा
ताली बजाउनेहरूको मन जलिरहेका हुन्छन्
बधाई दिनेहरूको मन धमिलीरहेको हुन्छ
त्यसैले मलाई उचाई छुने रहर लाग्दैन
हिजो दुःखमा साथ दिनेले छोड्ने छन्
पैँचो दिनेले खिस्याउने छन्
दुःखमा आफ्ना भएकाहरू टाढिने छन्
पार्टी, भोज मन्दिरका सहयात्री टुट्ने छन्
मनमा भएर पनि विगत बिर्सनु पर्नेछ
त्यसैले उचाईको सपना देख्न मन नै लाग्दैन
उदाहरण नै दिने भए
हिजो प्यारी भन्ने साथीले
नेतृत्व सुम्पिएपछि
एकाधिकार भएका साथी पन्छिएपछि
मनमा दुःख भाव लाग्यो
उचाईमा पुग्छे कि भन्ने लागेर
बहिनी भन्ने पनि तर्किए पछि
धेरै दुःख लाग्छ
त्यसैले मलाई उचाई छुनु छैन
बा आमाको सपना सधै सफलताको लागि
साथीहरूको मुस्कान बधाई दिनको लागि
आफन्तको मन प्रगतिमा जल्नको लागि
अनि पराई भन्नेहरू
जो अपरिचित छन् प्रशंसा र गालीका लागि
त्यसैले
उचाई पुग्नु त ध्रुबतारा जस्तो
उचाई पुग्नु त फ्लोरेन्स नाइटिंगेल जस्तो
उचाई पुग्नु त कालिदास जस्तो
उचाई पुग्नु त सीताको सतीत्व जस्तो

उचाई पुग्नु त लक्ष्मणको भातृत्व जस्तो
यो त सब एकादेशको कथा बनेको छ
अहिलेको उचाईले माया पाउदैन
अहिलेको उचाईमा सत्यता पाईदैन
तिमी उचाई छुने शुभकामना दिन्छौ
त्यो मलाई स्वीर्काय छैन
किनकि म उचाईमा पुग्दा
तिमी भुल्न सक्छु
त्यति बेला तिमीले शुभकामना दिने छैनौ
सरापका थुप्रै शब्द बर्साउनेछौ
त्यस पछि म शून्य हुनेछु
सम्पूर्ण भएर
पनि एक्लो हुनेछु
त्यसैले मलाई उचाई पुग्नु छैन

भक्तपुर, बागेश्वरी