राजबाबु श्रेष्ठ “सागर”

जसलाई खबर दिन्छौ
ऊ बेखबर साथी ।
स्पर्श गरेर बरफ
रुईको अनुभूति लिन्छौ
बेचेर हात्ती गधा किन्छौ
काटेर बाउको शिर दुस्मनको हात दिन्छौ
वाह ! क्या बुद्धिमानी साथी ।
थाहा छैन उसलाई
विद्वान र बुद्धिमानीका कुन पहाड अग्ला हुन् ?
भाँच्चिनु र टुक्रिनुको पीडा एउटै हुन् कि फरक हुन् ?
थाहा छैन उसलाई आगो के हो ?
र त खेल्छ ऊ आगोसँग
बेफिक्री भएर एउटा बालकझैँ
चिन्दैन ऊ साँप र बाबियोको डोरी
र त खेल्छ ऊ बेफिक्री भई हातले समाएर
आमाको घाँटीको तिलहरीझैँ ।
जसलाई खबर दिन्छौ
ऊ बेखबर छ साथी
वाह ! क्या बुद्धिमानी साथी
साथी त यस्तो पो साथी
तिमी के भुत्रोको साथी
बनेर गधा
बोकेर पिठ्युँमा किताबको भारी
भोकमा घाँस चर्दछौ
वाह ! क्या बुद्धिमानी मेरो साथी ।
महोत्तरी, गौशाला