बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।
जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।
बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिले विषयवस्तुको उठान गर्नुपर्छ।
बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रो पंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।
बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।
बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।
बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरी गर्नसकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहज बन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई
प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थिति पनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।
बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ र समर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहित प्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदै आएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरू प्रकाशनका लहरमा छन्। साहित्य पोस्टको “बाछिटा प्रकाशनमाला-१८ मा
अबजस चन्द्र, सुवास जमरकट्टेल, विमल शर्मा पौडेल, मोहन आचार्य जलद र श्रीकष्ण शर्माका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो।

पाँच दर्जन बाछिटा

१. अबजस चन्द्र

फकुल्लो
फन्दामा मान्छे
बकुल्लो

भँगडी
कर्मको छेको
बङ्गडी

लागत
लेनदेनको
तागत

रसिलो
फूल यौवन
तेजिलो

अँचेला
कार्यपद्धति
झमेला

अर्कना
चेतनाहुरी
तर्कना

पिनास
पैह्रोमा तन
विनाश

खकन
थेक्ने सामर्थ्य
मखन

उदेक
नीतिको छवि
विधेय

सकुल्य
रीतिको ज्योति
अमूल्य

टँसिलो
यौवनफूल
हँसिलो

स्वामित्व
शालीनशोभा
व्यक्तित्व

~~<>~~

 

२. सुवास जमरकट्टेल

किसान
कर्मका झुल्के
बिहान

म हाँस्छु
चाँदनी प्रीत
म गाँस्छु

फूलको
रूपमा धार
शूलको

बारीका
पसिना फल्छ
भारीका

झरिला
बैसालु फूल
भरिला

लहरा
पिर सुसेल्ने
छहरा

प्रबन्ध
स्वार्थको छाया
सम्बन्ध

सुसेल्छ
चरीले व्यथा
उकेल्छ

असारे
श्रमको गति
खहरे

वनको
मयूर हर्ष
मनको

फुलेका
फूलमा भृङ्ग
भुलेका

जीवन
फूलको थुङ्गा
यौवन

~~<>~~

 

३. विमल शर्मा पौडेल

प्रकृति
सृष्टिसंस्कार
आकृति

संस्कृति
छाडा उजाड
विकृति

फोहोरी
राजनीतिको
दोहोरी

प्रवाह
भावनामय
उत्साह

प्रकृति
अक्षय सृष्टि
सम्पत्ति

सम्पत्ति
आँखाको छारो
दुर्गति

यौवन
लाली धपक्क
जीवन

उल्झन
डाह वेदना
जलन

रुवायो
दु:खको काँडा
बिझायो

प्रियसी
फूल काँडामा
उदासी

फुलेको
फूल जवानी
खुलेको

हिमाली
काखका बाघ
नेपाली

~~<>~~

४. मोहन आचार्य जलद

प्रेमिल
फूलमा हुन्न
अश्लील

चाहना
अनन्त मूल
भावना

कोसेली
सद्भाव बर्षा
जुनेली

अँधेरी
दु:खको हुरी
निठुरी

जुटेको
विश्वास फल
लुटेको

जवाना
सुखको घाम
बहाना

देख्दैछु
सत्य घामले
लेख्दैछु

फुलेर
यौवन हाँस्छ
खलेर

नयन
नभमा चाँद
चयन

साहित्य
प्रभाती रम्य
लालित्य

मानव
कालो कृत्यले
दानव

सोहन
मनको चुरे
दोहन

~~<>~~

 

५. श्रीकृष्ण शर्मा

सदन
नाटककक्ष
चयन

देखियो
सत्यको हिउँ
लेखियो

चुनियो
भावना हार
उनियो

चाँदनी
झलल मन
आँगनी

वनको
ऐंजेरूमाया
धनको

गीतमा
छपक्क आँखा
शीतमा

सम्बन्ध
कालो स्वार्थले
दुर्गन्ध

उष्णता
प्रेमको याम
शुष्कता

खारिलो
वचन छुरा
धारिलो

माहुरी
श्रमको भोग
माधुरी

काजको
जाडाको घाम
लाजको

अल्छीको
अभाव धार
बल्छीको

~~<>~~