कोपिला ढुंगाना

क्षितिज पार ठम्याउने उसका आँखा
कोइलीको जस्तो मिठो सुनिने उसका बोली
मनै लोभ्याउने उसका हाउभाउ
मोहितै बनाउने उसका चाल
के बयान गर्न सक्लान् र यी कलमहरूले
के वर्णन गर्न सक्लान् र यी बोलीहरूले ।

समाजले नै स्वीकार्ने उसका विचार
सबैले गन्ने उसका गुण
उदाहरणीय उसका काम
अदृश्य ती उसका प्रेम
के बुझ्ला र त्यो मनले यो मनको भाव
के जान्ला र त्यो मुटुले यो मुटुको राग ।

काव्यधारासरह उसका शब्द
मनमोहक उसका गीत र संगीत
सम्पन्न ऊ सम्पन्नता उसका आधार
शून्य विपन्नता उसका आचार
के देख्लान् र ती आँखाले यो गरिब व्यवहार
के सुन्लान् र ती मष्तले यो मूल्यविहीन पहिचान ।

धार्मिक र आध्यात्मिक ऊ
समाजसेवी ऊ, राष्ट्रप्रेमी ऊ
ऊ एक, ऊ नै अनेक
ऊ यहाँ, ऊ नै त्यहाँ ।
कोही यती राम्रो कसरी हुन सक्छ ?
उसलाई खोज्ने धेरै छन् तर उसले कसलाई रोज्छ ?
उसको वर्णन कसरी गरूँ?
प्रशंसाले ओतप्रोत शब्दहरु कताबाट खोजुँ?

काठमाडौँ