१. ठूलो मान्छे

मधुसूदन घिमिरे

“मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।”
सानै छँदा पढेको कविता
र ठूलो भएपछि उदाङ्ग भएको वास्तविकता फरक रहेछ
देखिरहेछु
यहाँ त दिल नभएकाहरू नै ठूलो मान्छे बन्दारहेछन् ।

२. घर

घर छोडेर जङ्गल पसेको व्यक्ति
बुद्ध बनेर निस्कियो
घर छोडेर भट्टी पसेको व्यक्ति
जँड्याहा बनेर निस्कियो
आखिर छोड्न त दुवैले
घर नै छोडेका हुन् !

३. बाध्यता

बाँच्नै परेको छ
रहर नभएको यो सहरमा
जहर पिएर
भर नभएका मान्छेहरूसँग
ऊ कहिले किनेर बाँच्दैछे
ऊ कहिले बेचेर बाँच्दैछे
रहर अनि बाध्यता ।

४. सपना

मेरो आँखामा कुनै सपना छैन
केवल तिमी छौ
बुझिनौ ?
तिमी मेरो सपना हौ ।

५. जीवनको आकार

तिम्रो मन बादल थिएन
तर पनि आकार बदलियो
मेरो मन आकाश कहाँ थियो र
तै पनि मायाले ओत दिइरह्यो
त्यसैले आज हामी दुई
बादल र आकाशको जीवन बाँचिरहेछौँ।