टंकबहादुर आलेमगर
फल्छन् सुस्केराहरू
पूर्वीया हावाले रेटेर
पछुवाको ताजन सहँदै
त्यो अनन्त घाम
अविरल बहुला झरी
पुस-माघको चीसो शितलहर
आदिले
मौसम अनुपात बजार भर्छन् गाउँले छोरीको थाप्लोलाई मैदान बनाएर
त्यो खजुरलाई जस्तै ।
ऊ भन्न चाहन्छे
ऊ सुनिरहिछे
ऊ छेउकै खजुर
ऊ बुझिरहिछे
अलिक परको ताडीको मार्मिकता
खजुरले खाप काटिएर चुहाको वैंशले
बुद्धेलाई मस्ती बनाएजस्तै
एकदिन
कसैले उमङ्गित बनेर लोग्नेपछि सन्तानको बाउ बन्नलाई
उसको काँचो अस्मिता फोर्ने अधिकार पाउने होला
समाजिक रोहवरमा एक चिम्टी सिँदुरले लेखेको सहमतिले ।
तर
एउटा चुनौती
मालिकको गिद्दे आँखाबाट
सलले छोपेर
कहिलेसम्म बचाउनु सक्ली
दुइटा ढुकुरजस्ता स्तनको उमेर र
आमा बन्ने सौभाग्यको ढोका।
अझै घायल बनेकी थिइ
खजुरजस्तै
पछ्यौउरी खस्दा
जोत्दै गरेकाो रामु काकाको खोपिल्टे आँखा
आएर तिनै ढुकुरमा अल्झेपछि।
कति छोप्नु
कति अप्ठ्यारो महसुस गर्नु
यो कामुकताको संसार
ऊ सोच्थी सन्तान उत्पादन भूइँमै बलात्कर त हुँदिनँ।
छि:
कति लुकाउनु
तातो घामको पेलन
जेठ असारको लू बनेको हावामा पनि
केवल सहनु अरे
खजुरले जस्तै
हामी नारी भएपछि ।
प्रश्न तेर्साउँथी आमासँग
बुबा एउटै कट्टुमा नाङ्गो बनेर गर्मी पछार्नु हुन्छ
बाजेको कुरै छोडौँ
बजैमा अलिकति सहुलियत छ चुम्री सकेको छाला देखाउन
दाजुभाइ पनि अर्धनग्न घुम्छन्
छोरी, बुहारी र आमाले मात्रै घरको इज्जत धान्न गुम्सी दिनु पर्ने ?
यो कस्तो सभ्यता हो
यो कस्तो संस्कृति हो
अरुकै लागि पीडा सहिदिनु अरे
खजुरले जस्तै ?
उसको मनभित्र हुन्डरी मडारिन्छ
खजुरले हरेक मौसममा ताछिनु परेजस्तै ।
तँ
आइमाईो
वरदान होस् कि श्राप
तँ स्तन विभेदपूर्ण रहेर पनि सन्तान पाल्दै छस्
तँ कान किन रहर गर्छस् यति धेरै संस्कृतिको
भार बोक्न ?
तँ नाँक चोटै चोट बोकेर किन आफैँ ठडिने रहर गर्छस्
उसलाई सोध्न मन लागेको धेरै भयो
जीवन सिकाउने प्रथम शिक्षिका, दिदी र
आमासँग
किन डरलाग्न थाल्यो मलाई
आफ्नै
बुबा र दाजुसँग ।
अझै प्रश्न गर्न मन लाग्दै छ सरकारसँग
बलत्कारी थुन्ने कस्तो खोर
बनाउँदै छौ ?
छोराले जस्तो
छोरीले पनि छाती फुकाएर हिँड्न पाइन्छ कि पाइँदैन
छोरी असुरक्षित बस्न पर्ने दिनको अन्त्य कहिले हुने हो ?
प्रश्नका ओइरो लाग्छ फूलकुमारीको मनभरि
खेतको डिलमा बसेर
यसरी मनको आवेगले कुत्कुत्याई रहँदा
सर्टको टाँक खोलेर छाती ह्वाङ्गै पार्दै
समिज पनि खोलेर
दुइटा ढुकुरजस्ता स्तनलाई उदाङ्गो बनाएर
भन्यो
कति लजाएर अनि छोपिएर बस्छस्
हेर खजुरको पीडा
उता हेर आमाको पीडा भन्दै फर्किदा
आमाले देख्यो
र
आतिँदै आएर सर्टका टाँकहरू लगाई दिँदै
कराइन् ‘बौलाइस् के हो ?’
यता उति हेर्दै फेरि आमाले भनिन्, ‘धन्न कसैले देखेनन् । नत्र हाम्रो नाक जान्थ्यो ।’
म बिहे गर्दिनँ, ‘तपाईंले झैँ दिनरात लोग्नेको कुटाइ खानु छैन ।’
अहिले भन्छेस् कुन दिन टाप कस्छेस
मायाको घोडासँग ।
उसले झल्यास्स सम्झ्यो रोजनको
स्पर्शको आनन्द ।
त्रियुगा नगरपालिका – ११, संगमटोल
उदयपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।