डा. बालाकृष्ण अधिकारी

डा. बालाप्रसाद अधिकारी

एकदिन जब म
जीवनको खेलबाट थाकेर
मृत्युसँग प्रेमको आलिङ्गन गरी
सुतिरहेको हुनेछु सोलामा
मेरी प्रिये !
तिमीले मेरो प्रेमको सम्मानमा जीवनभरि
प्रयोग गरेका शब्दहरूको कात्रो ओडाएर
तिरष्कारको एक चिम्टी तुलसी
घृणाको एक मुठी घिउ
पीडाको एक अञ्जुली पिण्ड
धनको दुई छेस्का धूप
चढाएर हाँस्तै दागबत्ती दिनू है !

मैले ठान्नेछु
जीवनभर मेरै कारणले
तिमीले भोग्नुपरेको अभाव
तिमीले गर्नुपरेको सङ्घर्ष
तिमीले खेप्नुपरेको साँघुरोपन
तिमीले दबाउनुपरेको इच्छा
तिमीले सुकाउनुपरेको शरीर
तिमीले काट्नुपरेको कसला
आदि आदि सबैबाट
म पूर्ण रूपले मोचन भएको छु ।
यो प्रतिशोधको परीक्षामा
पास हुन सक्यौ भने
तिम्रो अस्मिताको साम्राज्यमा
तिमी मात्रै शासक हुनेछ्यौ
अनि
विजयको अभिमानले निर्मित
तिम्रो सत्ताको संविधानमा
सबैभन्दा ठुला अक्षरले लेखिएको हुनेछ-
“सबै पुरुष बलात्कारी हुन् ।
सबै पुरुष मृत्युदण्डका भागीदार छन् ।”

मेरी प्रिये !
साँच्चै जीवन
जोखिमैजोखिमको खेल रहेछ-
जित्नेले पनि मर्नैपर्ने !
हार्नेले पनि मर्नैपर्ने !
शासकले पनि हार्नैपर्ने !
शासितले पनि हार्नैपर्ने !

मेरी प्रिये !
पूरै इमानदार भएर वाचा गर्दछु-
तिम्रो अनवरत विद्रोहको सफलताले प्राप्त
दोस्रो सत्ताको अमरताका लागि
तगारोछेउ फुलेको गुलाबको पत्रमा
शित बनेर सधैँ टल्किरहने छु म
मेरो प्रतिबिम्बलाई हेरेर
कम्तीमा एकपटक
प्रेमले मुसुक्क मुस्कुराइदिनू है !