जुन दिन घमण्डले लक्ष्मण रेखा माग्छ,
आत्मसम्मान भित्रभित्रै जाग्छ,
त्यसै दिन आफैँलाई सोध्नु ,
हे मुटु, के मलाई स्थान छैन र ?
के म तिम्रो भइनँ र ?
जुन दिन सबै सम्बन्धको ढोका लाग्छ,
आत्माले आफैँसँग साक्षी माग्छ,
त्यसै दिन आफैँलाई सोध्नु,
हे मुटु, के मेरो पनि माया लाग्छ र ?
के मप्रति अलिकति दया जाग्छ र ?
जुन दिन जवानीले किनारा माग्छ,
आफ्नै तस्विर बेढङ्गको लाग्छ,
त्यसै दिन आफैँलाई सोध्नु,
हे मुटु, के मेरो तस्विर मुटुमा छैन र ?
के म त्यो लायक रहिनँ र ?
जुन दिन प्रत्येक श्वासले समय माग्छ,
द्वेष सदाका लागि टाढा भाग्छ,
त्यसै दिन आफैँलाई सोध्नु,
हे मुटु, के मेरो पनि ठाउँ छ ?
के मलाई दिने कुनै नाउँ छ ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला