क्याम्प उठ्यो

१.

लौ बस्नुहोस् है,

म ता जानुपर्यो,

मेरो जीवनमा फेरि

नयाँ एक पर्दा झऱ्यो।

हाम्रो क्याम्प उठ्यो

जानै पऱ्यो विदा पाऊँ

यो मनको एक चोइटोचाहिँ

छाड़ी गएँ यसै ठाउँ।

नमर्ने जियालो सिपाही एक म हुँ

भन्न नहुने कहानी भनूँ कि नभनूँ

दूर अभिलाषा मेरो

एक रातको सम्झनाझैँ

मिठास भरेर बनूँ।

एक सानो भूलमा ठूलो केही हराएझैँ

लोभनीय बनेर रहुँ।

एक दिन आएथेँ यस शहरमा

दूर दार्जीलिङदेखि

जसको पृष्ठभूमिमा झल्कन्थ्यो

हिम-मालाको रेखी

बिहानको झुल्के-घाममा

सुवर्ण बहन्थ्यो

साँझ नील गगनमा

चाँदीझैँ चम्कन्थ्यो।

२.

सल्लाघारीको बाटोमा

थैलामा पानी लिई,

जुहारी एक चरण

कान्छीले जोड्दथी।

‘एक पाते मकै दुई पाते भए

कुटोले गोडेर

नेपाली सिपाही रेलैमा चढे

हामीलाई छोडेर

छाड़ी ती सब,

शिलाङ आइपुगेथे एक दिन,

कति रात कति दिन बिते

बिते एकैछिन।

तर यहाँदेखि पनि

आज हाम्रो क्याम्प उठ्यो.

पल्टनैले आज यहाँ

अन्तिमबार हात चुठ्यो।

लौ बस्नुस् है

भई आबाद।

हामी ता जान्छौँ काश्मीर

कि हैदराबाद।

आएथेँ यहाँ एक दिन

ठान्दथेँ यहीं रहुँला चिरदिन

फॉरगेट मी नॉट (Forget me not)

आरुको बोटमा कोपेथेँ

३.

‘एप्रिल लिली’ को फूल

ब्यारेकको सामु रोपेथेँ

‘फेन्सिङ’ले बारेर

आशा थियो

एक दिन फुल्नेछ ढकमक्क

जस्तो आराधुरामा

फूल फुल्दथे फक्रक्का

एप्रिल लिलीको फूल र तिमीलाई

अनि आफै बग्दै आउने आफाली

‘वाटर हायसिन्थ’ (WaterHyancinth)-लाई

हेर्न औधी मलाई

मन लाग्दथ्यो,

हेर्दथेँ पनि

जति हेऱ्यो उति झन्

प्यास जाग्दथ्यो।

लिलीको पातमा शीतको थोपा

अनि तिम्रा दुई आँखामा आँसु

आहा! कति सुहाउँदथ्यो!!

विदा लौ शान्ति! विदा लौ बीरे!

विदा लौ मित्र धन!

विदा लौ मनु! खोइ तिमीलाई के भनूँ

आउँदैन अब झन्

भुइँ छोप्ने बादलले

ग्वाम्म छोपेको दिन,

 

४.

यति मात्र परिचयको

यो मजाको कन्तुरमा

मेरी कल्पनाकी परी

सौन्दर्यकी रानी

ममताकी खानी,

मेरी दिदी। सबलाई विदा, अब विदा

अलविदा मौनताकी मूर्ति

मेरी सीता।

राम्री देविका तिमीलाई बाँधी

राख्नेछु मेरै कहानीमा,

छुच्ची माइली तिमीलाई सदा

भेट्नेछु मेरे मौनतामा।

अब को रह्यो? अरे आइस् तँ पनि

हँ रामे?

हे हे दाजी’ भन्दै हाँस्दै सलाम

गर्दे।

म त हिँड़ेँ अब

ख्याल छ कि अरे गधे?

-तर रामे, तँलाई याद

राख्नेछु यो मनमहाँ

आज, भोलि, सधैँ, पुगे पनि म

यहाँ वहाँ जहाँ तहाँ

 

५.

हाँ सुना-कुरुड्ग छाँगो

हेर्न जाँदा साथ दिने

बैनीलाई नमस्ते भनिदिए

ऐनाको झ्यालबाट चियाउनेलाई

यी चीजबीज गनिदिए।

लौ त ‘बिगुल’ बज्यो (Bugle)

जान्छु हुनु फॉल हन’। (Fall in)

नेपाली नपुगेको कहाँ होला र?

फालिन व आफालिन।

बूट जुत्ताको गरपगरप

गाड़ीको गर्जन भुर्र भुर्र

‘सिक्स टनर’ छः चक्केमा (six tonner)

जाँदैछौँ हामी हुर्र हुर्र

कठै सम्झना आँउदछ सुर्र सुर्र—!

कति मनु मारिए मर्मामा

कति दनु छाडिए बर्मामा

क्याम्प उठ्यो

चलिजाने म हुँ पल्टने

हो वा पल्टिनेछु एक दिन

म पनि

रणभूमिमा कि कता-कता!

(यो क्लासिक कविता हामीलाइ शरद प्रधानले उपलब्ध गराउनु भएको हो । क्लासिक कविता शृङ्खलाअन्तर्गत नियमित रूपमा पुराना कविता शरद प्रधानले पस्कने गर्नु भएको छ । यो कविता बाबरी साहित्य पत्रिकाबाट लिइएको हो ।)