विश्वराज अधिकारी

त्यो दिन
जुन दिन सबैले बोल्ने
सबैले सुन्ने
तर म न बोल्न सक्ने न सुन्न सक्ने
त्यो दिन म जस र अपसजबाट सुदूर भएको
लोभ, मोह, क्रोध र प्रसन्नताबाट मुक्त भएको
निन्दा र प्रशंसाबाट उन्मुक्त भएको दिन
त्यो दिन सबैले मलाई देख्न सक्ने
तर मैले कसैलाई पनि देख्न नसक्ने
त्यो दिन, मेरा लागि दिन र रात समान
त्यो दिन मेरा लागि हर्ष र पीडा समान
मेरा शत्रुहरूले पनि मप्रतिको शत्रुता भाव
परित्याग गरेको दिन
म चुपचाप महायात्रामा हिँडेको दिन
म चेतनाबाट जडमा रूपान्तरित भएको दिन
म पञ्चतत्त्व – हावा, जल, पृथ्वी, प्रकाश र आकाशमा बाँडिएको दिन
अर्थात् म रूपान्तरित भएको दिन
अर्थात् मेरो आनन्दको दिन
अर्थात् मेरो मुक्तिको दिन
अर्थात् मेरो मृत्युको दिन
अर्थात् मृत्यु उत्सव !