सोच्दैछन् घर गाउँका पसलले, बेच्यौ कहाँ औषधि
सोध्दैछन् डिलका चरा र टहरा, व्यर्थै गयो जिन्दगी
डोकोका किन घाँस पात चुप छन्, बोल्ने छ को को यता
भन्दैछन् सरकारका नजरले, ल्यायो गरिबी व्यथा ।।१।।
सुत्केरी पनि सगसंगै छन् रे, विश्वास निभ्दै गयो
कोरोना अब अस्पताल भरका, ज्यूँदा नछोड्ने भयो
यस्तोमा पनि छाउगोठ लगिए, नारी हुँनाको व्यथा
मर्नेको गहमा अथाह टकको, बन्छन् हजारौ कथा ।।२।।
छुट्टै ठाउँ अभाव देशभरमा, रोगी निरोगी जुधे
यस्ताको उपचार खप्न नसकी, जाँच्दै नजाची कुदे
निष्ठावान जवान फस्छ अहिले, झोलेहरू जोगिए
साँच्चै राष्ट्र सपूत छन् भुवनमा, भन्ने भ्रमैमा थिए ।।३।।
यस्तै कारणले मर्याे ह्रृदय नै, बिह्वल सारा भए
दोसी आँगन हेर्छ के प्रलय यो, कैदी भयो संजय
हाँसो साथ मजाक बन्छ जनता, बन्दैछ यो देश रे
त्यै खाल्डो भर मात्र देश छ भने, हेप्ने छिमेकी छ रे ।।४।।
पोल्दै छन् मुटुमाझ ज्ञान महिमा, विज्ञान खोस्टो भयो
कालाका धन काल नै बनी गए, मर्ने न दोषी थियो
हे ! नालायक झुण्ड देश जनता, सक्छौ बचाऊ अब
काँडे तार लगाउदै जमिनमा, लौ रोक रोगी सब ।।५।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
