१
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सबको प्रगति।
र दानव दुई दललाई, विकट विरोधी मल्ल बनाई,
जुगजुग चर्को कुस्ति लडाईं, विधिले भारी गो प्रगति ।
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सबको प्रगति।
२
जलचर, थलचर, नभचर सारा, जीव जन्तुको जीवन-धारा,
पिउँदै मानिस धर्म-पुकारा गर्दछ यसको कस्तो प्रगति !
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब……
३
सब ममताको लिन्छन् नाम, तर असमानै सबको काम,
भवमा होला त्यो कुन ठाम ? जसमा समता गरोस् प्रगति ।
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब…..
४
तिम्रो हात्ती, त्यसको बोको, उसको मोटर मेरो डोको,
अदलाबदली गर्ने धोको छंदाछंदै के होला प्रगति ।
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब……
५
तिम्रो धुकुटी मेरो लागि मैले माग्दा कत्ति न जागी,
जब खोलौला ममता त्यागी तब पो होला सच्चा प्रगति।
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब…..
६
तिम्रो भाँडो, मेरो पानी चामल तिनै हाले नानी !
सब सजियाँ भो भन्ने बानी नछुटी होला कसरी प्रगति ?
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब…..
७
हाम्रो जीवन उडदो चङ्गा, चुंडिनासाथै बालक नङ्गा,
धागो लुट्छन्, गछन् दङ्गा, मुसुमुसु हाँस्तछ तिनको प्रगति।
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब…..
८
केवल पसिना झार्छन् लाटा, त्यो तर मार्छन् मसिना बाठा,
यो सब नबुझे लाग्दछ घाटा, चारै जुगको यो हो प्रगति ।
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब…..
९
चतुरो इंग्लिश जाति शिकारी, उसले भारत-गैंडा मारी,
रगत पु-यायो सागर पारी, उपियाँ उफ्य्रो, गयो प्रगति।
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब……
१०
क्यै जान्दैनन् धोतीवाला थोरै दिनमा उठ्छ दिवाला,
भन्नेहरूका मुख छन् काला, भारत अब के गर्ला प्रगति ?
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब……
११
‘लडके लेंगे हिन्दुस्तान’ भन्दै गर्दै गर्व गुमान,
छुट्ट भयो त्यो पाकिस्तान, शरणार्थीको गयो प्रगति ।
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब……
१२
ध्वंसक लीला बहुत कडा भो, भनी सुरक्षा समिति खडा भो,
तर त्यै गुटबन्दी अखडा भो, छिटो छिटो भो अर्को प्रगति ।
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब……
१३
बर्लिन हान्दा अमेरिकाको, रसियासँगको मैत्री पाको,
फिर काँचो भो, बाल्यो राँको, कस्तो अन्धो स्वार्थी प्रगति ।
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब……
१४
यै खाडल हो सब नेपाल, गर्नुपर्दछ यसकै ख्याल,
बाहिर बस्छन् नरकङ्काल, त्यसमा कसरी गर्ने प्रगति ?
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब……
१५
उड्यो हवामा धुवाँ खरानी, तलतल दगुयो बहँदो पानी,
मुलुक भिरालो, चिप्लो बानी, टिक्तछ हाम्रो कसरी प्रगति ?
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब……
१६
भोका भरिया भारीबोका, भोकै बोकून् खर्पन डोका,
चतुर चमेरा पारून् पोका, वास्तव यै हो चोखो प्रगति ।
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब……
१७
अद्भुत यो खाडलका व्यक्ति, अद्भुत इनको प्रतिभा-शक्ति,
अद्भुत झिक्छन् नकली भक्ति, अद्भुत मसिनू कपटी प्रगति ।
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब…
१८
सरदर जनता वीश हजार, वर्षे-पिच्छे सीमा-पार,
जाँदा जाँदा मुलुक उजार, भयो, कठै !! अब कसको प्रगति ?
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब……
१९
अरुकै खातिर शस्त्र समायौं, अरुकै खातिर वीर कहायौं,
अरुकै खातिर जन्म गुमायौं, कत्रो दुर्भाग्यको प्रगति।
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब……
२०
प्रगति पियारो मान्ने खास, कलम छ मेरो अति दङ्दास,
यसको नगरीकन उपहास, हेर्दै जाऊ हँसिलो प्रगति
प्रगति-प्रेमी हृदय छ मेरो
हेरिरहेछू सब……
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।