यदि,
देशको एक मुठ्ठी माटो
सिमानाको एक टुक्रा धरा
मैले यो भौतिक शरीर
बलि चढाएर जोगिन्छ भने
किन मैले यो ज्यानलाई
आहुति नदिने ?
यो देशमा पुन:
शान्तिको गीत घन्किन्छ भने
नेपाली जनजनको मनमा
शान्तिको गीतले तरंग छर्छ भने
शान्तिको माधुर्य आलापले
अझ आनन्द मिल्छ भने
साना झुपडीदेखि महलका
चुलोमा आगो बल्छ भने
आफ्नो स्वार्थलाई थाँति राखेर
आफ्नाको निजी आस्थालाई
तिलाञ्जलि दिएर
शान्ति गीतको आह्वान
लौ अब किन नगर्ने ?
अनि,
चिसो सडक र पेटीमा
थुरथुर गर्दै कठ्याङ्ग्रिएर
खुम्चिएको मुहारको मुस्कान
एक गाँस अन्न नपाएर
सुक्दै गएको आन्द्राको डोरी
बस्दै गएको समधुर स्वर
बदलिदै गएको अनुहारको रंग
गल्दै गएको जिउँदो लासलाई
केहि राहत मिल्छ भने
मन्दिर भित्रका मूर्ति रुपि
देउतालाई भेटी दिनु भन्दा
मन्दिर बाहिर रहेका तिनै
साक्षात् देउतालाई
थोरै भएपनी भेटी
किन नदिने ?
र,
दुनियाँले फड्को मार्यो
मेरो देश अझै अल्झिएको छ
गरिबीमा,
थिचोमिचोमा,
अशिक्षाको चपेटामा
अझ भनौँ
यो देश ठूलाको भ्रष्टको भाँडो
सानाको गरिखाने मानो
जहाँ हत्याहिंसा,
कुरीति, कुसंस्कारले जरा गाडेको छ
हो त्यही ठाउँमा त्यही गाउँमा
आफूले जाने बुझेको ज्ञार र शिक्षा
प्रयोग गरेर विविध नराम्रा जाला भत्काउन
अलिकति भएको हाम्रो शिक्षाको झुण्डले
हातेमालो गरेर, अघि बढेर
किन महान् अभियान नथाल्ने ?
आउनुहोस्,
हातमा हात मिलाउँ
काँधमा काँध मिलाउँ
यस्ता झिना मसिना समस्या पन्छायौँ भने
देश आफैँ बन्ने छ स्वतन्त्र
आफैँ घन्किने छ शान्तिको गीत
सबै एक ढिक्का भयौँ भने
छोड्ने छ सारा दुनियाँले
यो भूमिमा आँखा गाड्न
अनि पो,
सिमानामा पिल्लर सार्ने छिमेकी
डाराउने छन्,
काप्ने छन्,
गल्ने छन् ।
सुरेन्द्र शाही ‘गुलाब कान्छो’, बाजुरा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।