खुपेन सुनुवार

विरही दर्द र अनुरागी रस हौ तिमी
अँध्यारोमा आभाष र उज्यालोको प्रकाश हौ तिमी

आँधी सँग जुध्ने , आगो माथी नाच्ने
बतासको बेग छेक्ने, आकाशको उचाई नाप्ने
तिमी हौ जगतकै शक्तिशाली दिव्य आविष्कार
गुलजारको अमुर्त भाषा हौ तिमी

मिर्जा गालिबको दर्दयुक्त गजल हौ तिमी
पं. रवि शंकरको सितारको तार हौ तिमी
बिस्मिल्ला खानको सनाईको राग हौ तिमी

मित्रसेनको हारमोनी र झलकमानको सारङ्गी
गुरूङ अम्बरको मेन्डोलिन र योन्जन गोपालको बाँसुरी
देवकोटाको झ्याउरे छन्द र शंकर लामिछानेको निबन्ध हौ तिमी

विथोभनको पहिलो प्रेम
सेक्सपियरको रङ्गीन रङ्गमन्च
पिकासोको हातमा नाच्ने बुरूस हौ तिमी

मदर टेरिसाको न्यानो ममता
मोनालिसाको कन्फिउज कर्के हेराई
मारलिईन मोनरोईको सदाबहार यौवन हौ तिमी

हरेक पल भेटिन्छौ, हरेक क्षण बिछोडिन्छौ
हरेक सासमा हुन्छौ, हरेक बतासलाई छुन्छौ
हरेक तरङ्गमा तैरिन्छौ र हरेक वासनामा फैलिन्छौ

जस्तो लय छ उस्तै प्रलय छ
जस्तो मिलन छ उस्तै विछोड छ
जस्तो आरोह छ उस्तै अवरोह पनि छ

यो मनको अस्थिर धुन हौ तिमी
जो ढुकढुकी भएर म भित्र बसेको छ

मृत्युपछी अन्नत जीवनको गुञ्जन हौ तिमी
जो अमर सङ्गीत भएर बैकुण्ठधामसम्म पुगेको छ

हालः बेलायत