रुझिरहेछु झरीमा
डुबिरहेछु जीवन
प्रिय !
नबगाऊ भो आँशु
बगिरहने ए नदी रोक
पिउन चाहन्छु म तिमीलाई
एक अञ्जुली
नछाड मलाई बगरमा
एक्लो एक्लो ।

पहरा थिएँ म हिजो
आज बालुवा भएको छु
नदी थिएँ म हिजो
आज म प्यासी बनेको छु
हिजो मेरो गतिलाई
छेक्न सक्दैनथे हावाले
आज म हावाले जताततै
उडाउने धुलो बनेको छु
कसैको आँखाको कसिंगर बनेको छु
बहिरहने ए हावा रोक !
म लामो स्वास फेर्न चाहन्छु
नपार अलपत्र यो बगरमा
एक्लो एक्लो ।

मर्नेको लर्को छ यो बगरमा
आत्महत्या गर्न खोज्नेको आँखा छ नदीको गहिराइमा
मैले ममाथि नाच्दै खुशी हुने प्रेमिल जोडी पनि देखेँ
मलाई बटुलेर दुई छाक टार्नेको पेट पनि देखेँ
यदि म पनि यही नदीमै हाम्फालेर गएँ भने
कठै के खालान् ती मजदुरले
जसले दिनभरि मलाई चालेर
बेलुकाको छाक टार्दछन्
मेरै छातीमा टेकेर
जीवनको अन्त्येष्टि गर्दछन्
मलाई उडाएर लान खोज्ने
ए बतास रोक !
म एकपटक भेटेर आउँछु मृत्युलाई
अब ऊ कहिल्यै नआवोस् यो बगरमा
म जस्तै एक्लै एक्लै ।