आदिकवि भानुभक्त आचार्य

दरिद्र नाऊँ नरमा छ कस्को ।
विशाल तृष्णा घरमा छ जस्को ।।

कुन् हो धनी सब् नरले कह्याको ।
सन्तोषले जो छ खुशी रह्याको ।।

ज्यूँदै म-याको भनि नाम् त कस्को ।
उद्यम् विना बित्तछ काल जस्को ।।

अमृत् सरी कुन् छ भन्या निराशा ।
पासा कउन् हुन् ममतै छ पासा ।।

कौनै बखत्मा पनि के नगर्नु ।
पाप्का अगाडि कहिले नसर्नू ।।

विद्वान पुरूषले कति काम गर्नु ।
स्वधर्म थामीकन शास्त्र पढ्नू ।

कुन् हो पशू तुल्य भनी कह्याको ।
विद्या नभै मूर्ख पडी रह्याको ।।

सज्जनन्हरू कस्सित सङ् नगर्नु ।
खल् पापि नीच्का नगिचै नपर्नू ।।

जन्म्यो कउन् जन्मनु फेर् नपर्न्या ।
मर्न्या कउन् हो मरि फेर् नमर्न्या ।।

कस्लाइ लाटो छ भनेर भन्छन् ।
जो ता बखत्मा पनि चुप् रहन्छन् ।।

माता सरी सुख दिन्या कुन चिज् छ जान्नु ।
विद्यै छ जान्नु त्यसतो अरू कौन खोज्नु ।।

कुन् हो जती जति दियो उति बढ्न जान्या ।
विद्यै रहेछ बुझि निश्चय तेहि मान्या ।।

(साझा प्रकाशनद्वारा प्रकाशित नेपाली कविता भाग १ बाट ।)