साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

दुःखी झोला

Chovar Blues Mobile Size

 

हरेक साझँ दुःख बिर्सने प्रयासमा
खुसीको व्यापार गर्न पस्ने गर्छ भट्टीमा एउटा बूढो मान्छे !

सधैँ ऊ सुनाउँछ आफ्नै कथा, आफ्नै व्यथा
कुरा गर्छ नदेखिएको सपनाको चुरोटको धूवाँसँग
दुःख सुख, सकस पीर
पोको बनाएर एउटै झोलामा
नापिरहेको हुन्छ सधैँ त्यो चिसो सडक
खोजिरहेको हुन्छ चिरा परेको पैतालाले गन्तव्य !

अनुहारसँगै चाउरिसके
उसका सबै चाहना अनि रहरहरू
तर किन देखिँदैनन्
त्यो ऐनामा चम्किला ताराहरू ?
सधैँ सुनाउँछ ऊ, आफ्नै कथा, आफ्नै व्यथा मात्र

न छोराछोरी आउँछन् न नातिनातिना नै
न आउँछन् कुनै बसन्तमा झैँ स्वास्नीमान्छेहरू
अचेल
कोहीपनि आउँदैनन्
एउटा चाउरिएको बूढोको दुःखको झोला बोक्न

बस् !
एक्लै एक्लै
कहिलेकाहीँ त ऊ गुनगुनाउँछ पनि
“कति बोक्नु यो दुःखको झोला ?“
बरू मिल्काइदिऊँ !
जस्तो पनि गर्छ
एक अगाँलो यादलाई सुमसुम्याउँछ पनि
एक तमासले रुन्छ पनि त्यो बूढो मान्छे

sagarmani mobile size

पागल झैँ बरबराउँछ कहिले
कल्पिन्छ
खोलेर दुःखको पोको
छटपटी स्वास्नी मान्छेहरूलाई दिन्छ
पिडा छोरा छोरीलाई दिन्छ
खुसी लुकाएर दिन्छ नातिनातिनालाई

बग्छ आफू नदी भएर
कहिल्यै किनारमा नअल्झिने गरेर ।

प्रचण्ड गौतम

प्रतिक्रिया
Loading...