आमालाई गुमाएपछि
खोरमा थुनिएका स–साना चल्लाहरू
चिच्याएपछि नै ब्युँझन्छ बृद्धसाँझ
र गर्भधारण गर्छ साँझले रातो घाम ।

जब सुत्केरी बिहान
आँसु खसाउँदै गरेको आँखाले हेर्छ
आँगनमा चिर्बिराउँदै गरेका मसिना चल्लाहरू
तब जिन्दगी पढ्दै गरेकी मेरी आमा भन्छिन्
बाबू !
म नभएको दिन तँ यस्तै चल्ला भएर बाँच्लास् है !

आमालाई प्रतिउत्तर दिनु अगावै
मैले आमा गुमाएँ
आज म
माउपोथी नभएको चल्लाजस्तै भएको छु ।