कविता : गाउँका कविता

प्रकाश निरौला

गाउँमा हज्जारौँ कविताहरू लेखिन्छन्
तर सुनिदैनन्, देखिन्छन् ।

काल्ना र पाखादेखि झ्याउरे भाकासम्म
पिपल छहारीदेखि घासका भारीसम्म
खेतका गरादेखि भ्यागुते छहरासम्म

सबैतिर कवितै कविता लेखिन्छन्
तर सुनिन्दैनन्, देखिन्छन् ।

एउटा कवि सहरमा कविमात्र बनिरहन सक्छ
तर गाउँमा कवि
खेताला, रोपार, बाउसे, हली, घाँसी, गोठालो जन्ती, मलामी, लेखनदास सप्पै बन्नुपर्छ ।

गाउँमा बिहानै एक भारी कविता बाख्राले खान्छ।
एक डोको कविता गाईले खान्छ।
बर्खामा आली काट्दा आली लगाउँदा
केही कविता धानबारीमै रोपिन्छन्, त्यहीँ फल्छन्
मकैबारीमा केही कविता उतै पाक्छन्
तोरीबारीमा केही कविता त्यतै फुल्छन्
मकै भट्मास पिँध्न जाँदा
केही कविता घट्टासँगै घुमिरहन्छन्
तोरी पेल्दा केही कविता कोलमै चेपिन्छन्
पिठो कुट्दा ननिफनिएका केही कविता
ओखल ढिकीमै छोडिन्छन्
लिङेपिङ रोटेपिङमा केही कविता
हल्लुड बनेर अड्याइरहन्छन् रौनक

अर्मपर्म, जन्तीमलामी, पुजाकार्जे
गाउँमा हज्जारौँ कविता लेखिन्छन्
तर सुनिन्दैनन, देखिन्छन।

वर्ष, दुई बर्षमा जब
कवि सहरको स्टेजमा उक्लिन्छ
उसका कविता सुनिन्दैनन्, देखिन्छन्
हातका ठेलाहरूमा, चोटहरूमा , खतहरुमा

गाउँमा हज्जारौँ कविता लेखिन्छन्
तर सुनिदैनन्, देखिन्छन्।