साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कविताः भिन्नता

ratna book ads

रविन इडो

उसले घरबार जोडेको ७ वर्ष भयो भन्यो
मैले घर छोडेको ७ वर्ष भयो भनेँ
यहाँनेर ऊ र म छोड्नु र जोड्नुको भिन्नतामा पर्यौँ
आखिर बितेका वर्षहरू त
उसका पनि ७ थिए, मेरा पनि ७ थिए ।

उसले ७ दिनसम्म अनिदो बसेर
५२ पत्तीका ५३ खेल खेल्न सक्छु भन्यो
मैले ७ दिनसम्म भोक रोकेर
रोग पाल्दै एउटै कथाको ५३ सिन लेख्न सक्छु भनेँ
यहाँनिर ऊ र म निद्रा थाम्नु र भोक थाम्नुमा मात्रै फरक रह्यौँ
आखिर दिनहरू उसका ७ भए मेरा पनि ७ भए
खेलहरू उसका ५३ भए मेरा सिन पनि त ५३ नै भए।

उसले ३० रुपैयाँमा १ बोत्तल पाइने
चामलको निघार र मकैको निघारको फरक छुट्ट्यायो
मैले ३०० पर्ने एउटा शो
गोपीकृष्ण हल र मन्डला थिएटरको फरक छुट्ट्याएँ
यहाँनिर ऊ र म ३० रुपैयाँ र ३०० रुपैयाँको अन्तरमा पर्यौं
आखिर उसको पनि १ बोत्तल, मेरो पनि १ टिकट ।

उसले बुबाको सुर्ती र छिमेकी बाजेसँग
तम्बाखु साटेको बचपन सम्झियो
मैले ती बाजेले बाख्रा चराउँदा बाघसँगको मुठभेडको कथावाला बचपन सम्झिएँ
यहाँनिर ऊ सुर्ती र तम्बाखु अनि म बाघको कथामा अल्झियौँ
आखिर तम्बाकु साट्ने र बाघको कथा भन्ने बाजे त एउटै हुनुहुन्छ ।

उसले मेरो जेठी छोरी १० वर्षपछि त
पोइला जान्छे भन्यो
मैले १० वर्षपछि त म
अहिलेको भन्दा १० वर्ष जेठो हुन्छु भनेँ
यहाँनिर ऊ इनडाइरेक्ट उमेरको हिसाब गर्यो, मैले डाइरेक्ट हिसाब गरे
आखिर उमेरको हिसाब त १० वर्षकै भयो ।

उसले जरङ्कुबाट पेप्सीकोला
ब्राउन सुगरको पार्सल पुराएको कथा सुनायो
मैले पेप्सीकोलाबाट जरङ्कु
ट्रेडमिल रिपिएर गर्न गएको कथा सुनाएँ
यहाँनिर ऊ घन्टाको १०००० मा अल्झियो, म घण्टाको १००० मा अल्झिए
आखिर पैसा त दुवैको हजारमा गनियो।

उसले ५० ग्रामको ब्राउन सुगर
मामाले फालिदिएको भन्दै पिर गर्यो
मैले ५० वटा पुराना कविता
आमाले फालिदिएको भन्दै पिर गरेँ
यहाँनिर उसले ग्रामको ७००० गुमायो, मैले एउटा कविताको ७०० शब्द गुमाएँ
उसले मामालाइ दोष दियो, मैले आमालाई सोच दिएँ
आखिर उसको पनि ५० ग्राम त हो, मेरो पनि ५० वटा त हो !

उसले यी सब कुरा
सूर्य चुरोटको अन्तिम सर्को तान्दै बिट मार्यो
मैले यी सब कुरा
बायाँ हातको अन्तिम धर्को तान्दै बिट मारेँ
यहाँनिर ऊ र म सर्को र धर्कोमा मात्रै फरक रह्यौँ
आखिर ऊ र म आ-आफ्ना व्यथाको साराङ्श विश्राममा आइपुग्यौँ ।

उसले आफ्नो सपना, शहर र रहरको कथा सुनायो
मैले आफ्नो विपना, शहर र कहरको कथा सुनाएँ
वास्तवमा
उसले आफ्नै भोगाइ र बुझाइ सुनायो
मैले आफ्नै भोगाइ र बुझाइ सुनाएँ ।

प्रतिक्रिया
Loading...