जुवा र तास रक्सीको आश बिग्रन्छ समाज ।
नेपाली मनमा बुद्धको माया हिमाल छ आज ।।

प्रगति पथमा मिहिनेत हातमा उज्यालो साथमा ।
जुवा र तासमा नदिनु आत्मा जीवन हो परमात्मा ।।

धर्मराज चुके नल नि चुके राजा र महाराज ।
जुवाको लतले राज्य नै फूके खोज्दथे काम र काज ।।

जुवाको लतले आफ्नै मतले बिग्रेको मान्छे म ।
त्यसैले भन्छु विदेशमा म छु पछुतो मान्छु म ।।

घर नै बिग्य्रो परिवार बिग्य्रो संसारै ममाथि ।
नखेल्नु होला नभुल्नु होला जुवामा है साथी ।।

सांसद भए पपुलर उनी सचेतक भएका ।
क्यासिनो अन्ना तारा र सारा जुवाघर गएका ।।

हजारको चिप्स सयको डलर बिस्कुनझैँ सुकाए ।
जुवाको घरमा सम्पत्ति सिध्याई दिन रात बिताए ।।

करोडको घर कौडीमा बेचे सिध्याए सम्पत्ति ।
के गर्नु अहिले सम्झेनन् पहिले आपत्ति विपत्ति ।।

अगाडि जिएम मेनेजर पछि बडिगार्ड साथमा ।
ब्ल्याक लेवल ह्विस्की रक्सी र मासु प्याकिङ हातमा ।।

लिनलाई कार छोड्नलाई कार राजाझैँ सवार ।
सिद्धिएपछि न इज्जत घरबार न समाज परिवार ।।