साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कविता – मृत्युको सौन्दर्य

ratna book ads

सुनिता राई कन्दङ्वा

जीवन आगमनजस्तै सुन्दर
किन हुँदैन होला अन्त्य !
म सोचाइको भुमरीमा फनफनी घुमिरहेछु
ठिक यो घडी
अवचेतनको ब्रह्माण्डभित्र
अस्पतालका शैय्याहरूमा
मृत्युसँग लडिरहेका
यी तमाम आँखाहरू
उघ्रिन्छन् कि उघ्रिदैनन् होला
पुनः यो संसार नियल्न
~ : ~
मलाई सोधुँ लाग्छ
युगौँदेखि आस्था र विश्वास बोकी उभिएको
माथि देउरालीको भुमेश्वरलाई
के यस्तै हुन्छ
मृत्युको सौन्दर्य !

व्यर्थ व्यर्थ लाग्छन्
पुरै जिन्दगी खर्चेर आर्जेका
ती सारा मान/सम्मान, ऐश्वर्य र प्रतिष्ठा
अस्तित्वमा रहनु या नरहनुको संकेतहरू
जब
कुदिरहेका हुन्छन्
मनिटर (मेसिन ) स्क्रिन भित्रका हाइवेमा
त्रेता युगका वामन बाका पगझैँ
घरी स्वर्ग त घरी पाताल
मापन गर्न पुग्छन्
ती सङ्केतहरू …
मुटुका धड्कनहरू…
अनगिन्ती धमनीहरू…
सायद
जिन्दगीका अन्तिम स्वास हुन् ती
जो होसियारपूर्वक प्रवाहित भैरहेछन् ..

मृत्युको सौन्दर्य
यदि यही या यस्तै हुन्छ भने
सुन !
हे विधाता
तिम्रो मृत्युु पनि यही विधिमा हुनुपर्छ
तिमीले पनि यस्तै दुख/पीडाहरू भोग्नुपर्छ
म उतार्दैछु यी सचित्रहरू
यी दर्दनाक दृश्यहरू

कोर्दैछु
नउघ्रिएका ती आँखाबाट
बगेका आँसुले
अथाह
आहतका कथा/व्यथाहरू
हेर यो दस्तावेज
तिम्रो विधातालाई लेख्दैछु
के यस्तै हुन्छ
मृत्युको सौन्दर्य ।

प्रतिक्रिया
Loading...