राजन पराजुली

तिमी मेरो शरीरसँग छोइयौ
मेरो शरीरमा बगेको पसिना तिमीसँग छोइयो
कयौँ पटक गन्न
मैले हातमा थुक लगाएर तिमीलाई छोएको छु
कति चोटि मैले छोएको पानीमा
तिमी डुबेका छौ
तिमी कयौँ रात मेरो घरभित्र
बास बसेका छौँ
मैले जे जसरी राखे पनि
तिमी पवित्र भयौ
सबैसँग बिना झगड़ा चल्यौँ

सबैका खोल्टिमा
सबैका घर घरमा
सबैका मठ मन्दिरमा
सबैका हात हातमा
चुपचाप चल्यौँ

कसैले तिमीलाई
यो छोइएको छ
तैँले छोएको छस् म लिन्नँ भनेनन्
हात थापेर
घाममा नसुकाई
सुनपानी नछर्किएरै
पवित्र नबनाई
खोल्टिमा राखे
आफ्नो घरभित्र लगे

म मेरो पछाडिको थरका कारण चलिनँ
मैले उनीहरूका हरचिज छोइदिँदा
घाममा सुकाउँछन्
सुनपानी छर्किन्छन्
आँगनभन्दा पर जान दिँदैनन्
उनीहरूलाई नछोइकन पर बस्नुपर्छ
झुक्किएर छोइयो भने
हतपत जनै बदल्छन्

तिमी कागजको खोस्टो हौ
मैले छोए पनि चल्यौ
तिमी मूल्यवान् हौ
मैले पसिना टँसाए पनि चल्यौ
तिमी ठूलो हौ
मैले थुकले छोए पनि पवित्र भयौ
र त उनीहरूको घरभित्र छिर्यौँ

म मानव
तिमीभन्दा अमूल्य बनाइदिन्छन्
तिमीभन्दा अपवित्र ठहराइदिन्छन्
तिमीभन्दा नचल्ने गराइदिन्छन्

मैले छोएका
तिमीबाहेक
सबै छोइन्छ
सबै अपवित्र ठहरिन्छ
कथित ठूला जातिका लागि….।

चितवन