वर्षौंवर्षको अन्तरालमा पनि
ठिङ्ग्रिएर बसेको छु
ठुटिएको छु
जल्लादले टाउको तासे झैँ
तासिएको छु
मानौं मेरो फेरि दोस्रो चोटी
न्वारन भएको छ
ससाना पालुवाहरू मौलाएका छन्।

मुडो माथिबाट
लाग्दैन रुख जस्तो
बूढो मुडो
रुख हुँ जरा दुख्छ
तिमीले पानी नसिँचे

मनुष्यका मानस पटलका रुख
पथका गगनचुम्बी रुख
आँगनका थोरै घमण्डी
अनि कौशीका सर चढेका रुख
विदेशी मोलमा लडिबुडी उम्रिएका
अनि लोकल रुख स्वदेशका
मनोमेन्ट दायाँबायाँ र तलमाथिका
आफूले आफैँलाई अग्ला
कहिले होचा बाहुन्न वीरसरह सोच्ने
जति नै शिखर छोए पनि
गन्तव्य त आखिर जमिनमै छ
पापीले आएर छ्याप्प पारेपछि
रुख हुँ, जरा दुख्छ
तिमीले पानी नसिँचे

लत्र्याङ्ग भुइँमा मुर्दासरी लड्दा
मेरो अस्तित्वको खोजी खोई भएको
बरु मेरो अविचलित अंगहरु
टुक्राटुक्रा पारेर
बाँडिन्छन् नअगाएका भोका मानवलाई
जो पेटमा मात्र ज्वाला नराखी
नजरमा लुब्ध लोभी भोक राख्छ
रुख हुँ जरा दुख्छ
तिमीले पानी नसिँचे

लाग्छ मानौँ म मुक्त भइनँ
लाग्छ म मरेर पनि
नरकैमा छु
देख्छु प्रत्येक अनुहार
म भन्दा बढी पापी छन्
सगोत्री भएर के भयो
सगरमाथा चढेर के भयो
टापुबाट रुख नदेखेपछि
उद्गम बिन्दुबाट दृश्य
धमिलो देखेपछि
कसरी उमार्छौ पालुवा मुना
रुख हुँ जरा दुख्छ
तिमीले पानी नसिँचे