मलाई माफ गरिदेऊ बुद्ध
आज पनि म तिमीलाई नै सम्झिरहेछु
मैले सकिनँ कोही अर्को बुद्ध जन्माउन
जो तिमीलाइ बिर्सन सकुँ
एक लामो शताब्दीदेखि
तिम्रै रटान लगाएर बसेको छु ।

सायद तिमीले भनेका कुरा
मैले बुझेको भए
आज यो पृथ्वीको आँगनमा
करोडौं बुद्धहरू नाचिरहेका हुन्थे होला
प्रेमले , आनन्दले, शून्यतामा मग्न भएर
शान्तिले बसिरहेका हुन्थे होला ।

तिमीले विवेक , स्वतन्त्रता, शब्दको शक्ति बतायौ
आत्मा, चेतना र जन्मको कारण खुलायौ
दुःख र दुःखको कारण सम्झायौ
प्रेमको, शान्ति र आनन्दको अभ्यास सिकायौ
तिमीले आफूलाई छोडेर
कसै मूर्ति पुजाको व्यर्थथा बोध गरायौ ।

त्यसको बदलामा मैले के गरेँ
प्रेमको दमन गरेको छु
अहंकारको बृद्धि गरेको छु
आफ्नै छिमेकीको डरले हतियार बनाए
सम्प्रदाय बनाएको छु ।
त कि लड्न सकुँ अर्कोसँग
मैले ठूला गगनचुम्बी महल बनाएर
आफूलाई बन्धक बनाएँ
मैले सबै भन्दा ठूला तिम्रै मूर्ति बनाएको छु
त्यसैमा व्यापार गरेको छु

मर्म नबुझी केवल सिद्धान्त र वादमा
जकडिएको छु ।
म आज रुग्ण भएको छु ,
आज पागल भएको छु ।

हजारौ हजार बर्स सम्म मा पनि
म केवल एक राम सम्झिरहेछु
एक कृष्ण सम्झिरहेछु
एक बुद्ध सम्झिरहेछु
एक येशु सम्झिरहेछु
एक अल्लाह सम्झिरहेछु ।

सायद सबैले भन्न खोजेको कुरो
मैले आफैमा विचार अनुभव गरेको भए
आज मात्र दुई चार जनालाई सम्झिरहनु पर्ने
कुनै आवश्यक थिएन
अहिले सम्म यो धर्ती
प्रेमले, आनन्दले, शान्तिले
बुद्ध मनहरूले भरिएको हुने थियो ।
मैले तिमिलाई बिर्सन सकिनँ
मलाई माफ गरिदेऊ बुद्ध ।