गोविन्द कडेल ‘आँशु’
एउटै बाटोमा
छोरो कुकुर डोर्याउँदै हिँड्छ
हामी लट्ठी समाउँदै हिँड्छौँ
कहिलेकाहीँ त छोराले हात समाएर
हिँडाइदियोस् अलिक परसम्म जस्तो लाग्छ
हामी बूढाबूढी भइसकेको बा-आमाको हात
समाउन कहाँ फुर्सद छ र उसलाई ?
तर त्यही छोरो हो
कुनै समय उसलाई हामीले
यही बाटोमा हिँड्न सिकाएका थियौँ ।
समयसँगै उसले नाप्यो
अलिकति शिक्षा
अलिकति व्यापार
तर उसको मस्तिष्कले कहिल्यै बुझेन
माटो मर्दैन मर्ने त बिरुवा हो ।
के पढेर आयो खै उसले विद्यालयमा ?
मैले त उसलाई
जमिन नपढ्नू, जमिनको सुगन्ध पढ्नू भनेको थिएँ ।
उसले बुझेको दुनियाँलाई
हाम्रो बूढो मस्तिष्कले
फेरो समाउन सकेको छैन
हामी बूढाबूढीलाई आधुनिकता बुझ्ने
मस्तिष्कमा सानो झ्याल चाहिएको छ ।
कवाडीमा नै फाले पनि
सुनको महत्त्व र अस्तित्व
कहिले पनि मेटिँदैन
बैकुण्ठ नै गए पनि
बा-आमाको मन छोराछोरीको लागि फेरिँदैन
हेर
आगोले खाए पनि
श्रीखण्डको बास्ना धुँवामा पनि उड्छ ।
हामी त बा-आमा हौँ
मन्दिर पुरानो हुन सक्छ
तर भगवान् कहिल्यै पुरानो हुँदैन
बाबू, आऊ हाम्रो हृदयमा
तिम्रो आधुनिकताको चप्पल खोलेर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।