आयुष बडाल

आयुष बादल

आगोको तापमा उम्लिएको चियाजस्तै
भकभकी उमाल्छु मेरो दु:खी मन
लिटरका लिटर लोकल तीनपाने
सँगसँगै
रित्याउँछु मेरो वैसालु योवन।

शरीर र लाज
एउटै भाँडोमा पकाइदिन्छु
ताल परे
आफ्नो ‘श्री’ नै बेचिदिन्छु।

यात्रीहरू आउँछन्
खाली थाल थाप्छन्-
उनीहरूकै लागि पकाएर
थङ्थिलो पारेको शरीर पस्किदिन्छु
रित्तो गिलास थाप्छन् –
शरीरसँगै पकाएको
लाज पिलाएर प्यास मेटाइदिन्छु।

कर्म यस्तै गर्दैछु-
कहिले
विदीर्ण मनको
सहारामा
पाउनाको हातको मुठीमा
खेलौना बनेर कब्जा भइदिन्छु

कहिले
जीर्ण तनको
सारथि भएर
फिक्स्ड प्राइजमा
आफैँलाई बेचिदिन्छु ।

म यता आफूले आफूलाई नै बेच्दैछु
उता
जिल्ला प्रशासन कार्यालय बाँढ्दै छ नागरिकता
र भन्दैछ –
तँ होस् नेपाली छोरी
यो देशको चेली

सुन्दा यस्तो-
अचम्म मान्छु
गहबाट बहका बाढी ल्याइदिन्छु
फेरि पनि
पेट पाल्नै पर्ने रहेछ भन्ठान्छु
आफ्नो शरीर बेच्न तम्सिन्छु।

हिजो कोही कसैले
कोठीमा बेचिदिएको थियो मलाई
आज स्वयम् म आफैँ
आफैँलाई बेचिरहेछु-
भट्टी कोठामा।

माइकबाट बनिरहेछु
मेरो जात छैन
धर्म छैन
देश छैन
कुनै एक पुरुष त छैन
अनि कसरी हुन्छु म –
नेपाली छोरी
अनि
यो देशको चेली ??

तर मान्दैन मेरा यी कुरा प्रशासन

ऊ पनि भनिरहन्छ:
तँ होस्
नेपाली छोरी
अनि
यो देशकी चेली

तर प्रमाणित गर्न सक्दैन।

प्रिय प्रशासन
बनाउन मन छ मलाई यो देशको चेली
त्यसो भए
बन्द गराइदेऊ न-
आँखाबाट बगेका कोसीका अशान्त छालहरू
रिहा गराइदेऊ न-
झ्यालखानाभित्र पसेका बेचैन लहरहरू
अनि
बन्द गरिदेऊ न-
मलाई डाम्ने ठालुका गोलभेँडा जत्रा नेत्रहरू ।

यी सब गर्नका लागि-
दिलाइदेऊ न मलाई रोजगारी
अनि
गरिदेऊ मलाई मुक्त
यो देहव्यापारको संसारबाट।

सक्दैनौ नि पुरा गर्न मेरा माग
त्यसैले
मैले भट्टी चलाइरहेछु
अनि
पाउना सँगको कर्म गरिरहेछु।

-आयुष बडाल