प्रिया,
अब मेरा यादहरू मिरमिरे उज्यालोमा आउने छैनन्
तिमीलाई बिउँझाउन तिम्रो सिरानीसम्म।
मध्य दिनमा न त बज्नेछ, टिकटिक टिकटिक मेरो मायाको घडी
जसलाई सुनेर तिमी जिन्दगीको समय महसुस गर्थ्यौ।
साँझमा न त बस्नु पर्नेछ तिमीले
मेरो पर्खाइमा सम्झनाको बर्को ओढेर
अनि रातको सन्नाटामा तिम्रो कानसम्म फुस्फुसाउन
न आउनेछु म, न हुनेछु म।
हो अब तिमी उन्मुक्त चरी भएकी छौ
आजैबाट तिमिलाई कत्ति पनि लाग्ने छैन
माया नामक साङ्लोमा बाधिएको जस्तो
तिमीलाई अझै लाग्ने छैन
मेरो छायाले पछ्याइरहेको जस्तो।
ए प्रिया, अब निर्धक्क भएर हिँड्न सक्छौ तिमी तिम्रो बाटोमा
म त यतै कतै हुनेछु
तिमी भन्दा वरै हुनेछु।
तिम्रो आँखामा अटाउन नसकेका सपनाहरू बोकेर
तिम्रो जीवनमा सजिन नसकेका रहरहरू समेटेर
तिम्रो मायालाई दागबत्ती दिन नसकेका तिम्रो मनन्दा नि कठोर हातहरू लिएर
तिम्रो गीतमा छमछम नाच्न नसकेका पाउहरू बोकेर
केही निर्लज्ज मुस्कानहरू बोकेर
केही आँसु बोकेर, केही घाउहरू बोकेर।
प्रिया, जान सक्छ्यौ तिमी
तिमीलाई छेक्न मैले त के यो बतासले पनि सक्ने छैन
तिम्रो बाटो रोक्न मेरो अङ्गालोले त के सिङ्गो पहाडले पनि सक्ने छैन
म त यतै कतै हुनेछु
तिमी भन्दा वरै हुनेछु ।
हिउँ हुनेछु पुरै शिशिरमा जमिरहनेछु
पानी हुनेछु, पुरै बग्नेछु बर्सातभरि
हावा हुनेछु वसन्तमा बहने छु
र ग्रीष्म हुनेछु आगो बनेर दनदनी जलिरहने छु।
ए प्रिया, अब निर्धक्क भएर हिँड्न सक्छ्यौ तिमी
तिम्रालागि बाटो खाली-खाली छ
मेरो खाली मनजस्तै
तिम्रो लागि संसार पर्खिरहेछ
कुनै समय मैले तिमीलाई पर्खिए जसरी।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।